काठमाडौँ । पछिल्ला केही हप्तादेखि लगातार नयाँ रेकर्ड बनाउँदै उकालो लागेको सुनको मूल्य फेरि ओरालो लाग्न थालेको छ । अन्तर्राष्ट्रिय बजारमा देखिएको गिरावट सँगै नेपाली बजारमा पनि पछिल्ला तीन दिनयता सुनको भाउमा निरन्तर कमी आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत आइतबार एकै दिन प्रतितोला ११ हजार ६ सय रुपैयाँले घटेर २ लाख ४१ हजार ९ सय रुपैयाँमा पुगेको सुनको मूल्य सोमबार पुनः २ हजार रुपैयाँले घटेर २ लाख ३९ हजार ९ सय रुपैयाँमा झरेको थियो । आज ९मंगलबार० फेरि २ हजार ९ सय रुपैयाँले घट्दै सुन प्रतितोला २ लाख ३७ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुन प्रतिऔंस ३,९७५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको महासंघले जनाएको छ । व्यवसायीहरूले सुनको मूल्य अझै केही समयसम्म ओरालो लाग्ने आकलन गरेका छन् ।
महासंघका प्रथम उपाध्यक्ष धर्मरत्न बज्रचार्यका अनुसार सुनको मूल्य यसअघि प्रतितोला २ लाख ५८ हजार रुपैयाँसम्म पुगेको थियो, जुन अत्यधिक उच्च बिन्दु हो । “सुनको भाउ धेरै नै बढिसकेको थियो, कुनै न कुनै समयमा घट्ने नै हो । अहिले त्यो चरण सुरु भएको छ,” उनले भने ।
उनका अनुसार पछिल्लो समय अमेरिकामा सुनबाहेक अन्य क्षेत्रहरूमा लगानीका लागि वातावरण बनिँदै जाँदा लगानीकर्ता अन्य क्षेत्रमा डाइभर्ट भएका छन् । यसले सुनको माग घटाउन योगदान पुर्याएको हो ।
बज्रचार्यले थपे, “तिहारका कारण नेपाल र भारतमा केही समय माग उच्च रह्यो, जसले मूल्यलाई टिकाइराख्ने काम गर्यो । तर चाडपर्व सकिएपछि भारतमा पनि माग घटेको छ । त्यससँगै अमेरिकाले चीनमाथि थप ट्यारिफ लगाउने निर्णय र त्यसको प्रतिक्रियामा चीनले रियर अर्थको सप्लाई रोकेको घटनाले प्रारम्भिक अनिश्चितता सिर्जना गरे पनि पछिल्लो समयमा अमेरिकाले अस्ट्रेलियासँग रियर अर्थबारे सम्झौता गरेपछि बजारमा स्थिरता आउँदैछ ।”
उनका अनुसार अमेरिकाको शेयर बजार डाउ जोन्स लगायत सूचकाङ्कहरू पनि हालसालै उकालो लागेका छन्, जसले सुनबाट अन्य लगानी क्षेत्रतर्फ पूँजी सरेको देखिन्छ । “लगानीकर्ता सुन बेचेर अन्य क्षेत्रमा जाँदै गर्दा माग घटेको र त्यसले मूल्य घटाएको हो,” बज्रचार्यले स्पष्ट पारे ।
सुनको मूल्य हाल ओरालो लाग्ने क्रममा छ र व्यवसायीहरूले यो गिरावट केही समयसम्म जारी रहन सक्ने अनुमान गरेका छन् ।




.gif)





