काठमाडौँ । कात्तिक १०, रसुवा र तातोपानी नाका पहिरोका कारण अवरुद्ध भएपछि मुस्ताङस्थित कोरला नाका चीनसँगको वैकल्पिक व्यापारिक मार्गका रूपमा तीव्र गतिमा अघि बढेको छ।
भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०८२।८३ को पहिलो त्रैमासमै कोरला नाकाबाट ५ अर्ब २७ करोड रुपैयाँ बराबरको सामान आयात भएको छ भने ९१ लाख ३२ हजार रुपैयाँ बराबरको वस्तु चीनतर्फ निर्यात भएको छ। पछिल्ला दिनमा यस नाकाबाट विद्युतीय सवारीसाधन (ईभी), लत्ताकपडा र फलफूलको आयात उल्लेख्य रूपमा बढेको विभागले जनाएको छ।
गत २४ असारमा रसुवा जिल्लास्थित लेहेन्दे खोलामा आएको बाढीका कारण रसुवा भन्सार कार्यालय पूर्णरूपमा बन्द भएको थियो। त्यसैगरी तातोपानी नाका पनि कोदारी राजमार्गमा आएको पहिरोका कारण लामो समयदेखि अवरुद्ध छ। त्यसपछि नेपाल र चीनले वैकल्पिक रूपमा मुस्ताङको कोरला नाका सञ्चालनमा ल्याएका हुन्। यो नाका ३० भदौदेखि पूर्णरूपमा सञ्चालनमा आएको हो।
नाकामा अहिले आशिकुडा प्रणाली सञ्चालनमा आइसकेको छ भने नेपाल राष्ट्र बैंकले पनि मुस्ताङ भन्सार कार्यालयमार्फत चीनसँग एलसी (प्रतीतपत्र) प्रणालीबाट आयात गर्न सहज बनाउने व्यवस्था गरेको छ।
तथ्यांक अनुसार पछिल्ला तीन महिनामा रसुवागढी नाकाबाट ३८ करोड ८१ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको छ भने निर्यात शून्य देखिन्छ। त्यस्तै तातोपानी नाकाबाट ९ अर्ब ४४ करोड रुपैयाँ बराबरको आयात भए पनि त्यहाँ पनि निर्यात भएको छैन।
हालसम्म चीनसँग नेपालको कुल व्यापारमा आयाततर्फ १ खर्ब ४ अर्ब ८९ करोड रुपैयाँ र निर्याततर्फ १८ करोड ६४ लाख रुपैयाँ बराबरको कारोबार भएको विभागले जनाएको छ।




.gif)





