काठमाडौँ । कात्तिक ५, फूल र उज्यालोको पर्व तिहार नजिकिँदै गर्दा काठमाडौँका प्रमुख बजारहरू,असन, इन्द्रचोक र न्युरोड क्षेत्रमा किनमेल गर्ने सर्वसाधारणको भीड अत्यधिक देखिएको छ। बजारमा चहलपहल त छ तर किनमेलका लागि पुगेका ग्राहकहरू भने सामग्रीको मनलाग्दी मूल्यवृद्धिले हैरान भएका छन्।
फूलको मूल्य दोब्बर भन्दा बढी, तिहारमा अत्यधिक माग हुने सयपत्री र गोदावरी फूलको मूल्य अचाक्ली बढेको छ। सामान्यतया १०० रुपैयाँमा पाइने माला अहिले ५०० रुपैयाँभन्दा बढीमा बिक्री भइरहेको छ। उपभोक्ताले स्थानीय उत्पादनलाई प्राथमिकता दिँदा समेत मूल्यमा राहत नपाएको गुनासो गरेका छन्।
स्वदेशी फूल प्रयोग गर्न सरकारको आग्रह भए पनि बजारमा नेपाली फूलको मूल्य अचाक्ली महँगो भएको छ, एक उपभोक्ताले भने, विदेशी फूल प्रतिबन्ध गर्दा नेपाली फूलको मूल्य झन् असुलिरहेको देखिन्छ।
व्यापारीको तर्क,अनुदान छैन, उत्पादन खर्च बढेको छ, व्यापारीहरू भने स्वदेशी फूलको उत्पादन लागत बढेको र सरकारी अनुदान नपाएकाले मूल्य बढाउनु परेको बताउँछन्। काठमाडौँ महानगरपालिकाले भारतीय फूलको आयातमा रोक लगाएपछि स्वदेशी फूलको माग बढेको छ, तर आपूर्तिमा कमी भएपछि मूल्यवृद्धि भएको तर्क व्यापारीको छ।
लत्ताकपडा देखि पूजाका सामग्रीसम्म महँगा,तिहारमा फूल मात्र होइन, नयाँ कपडा, पूजा सामग्री, मिठाइ आदिमा समेत मूल्यवृद्धि देखिएको छ। उपभोक्ताहरूले समान गुणस्तरको कपडा अघिल्लो वर्षको तुलनामा दोब्बरदेखि चारगुणासम्म मूल्यमा खरिद गर्नुपरेको बताएका छन्।
भीडलाई देखेर व्यापारीले मनपरी मूल्य लिइरहेका छन्, असनमा किनमेल गर्न पुगेका एक सेवाग्राहीले भने, सरकारले हेरेको छैन।
सरकारी नियमनको कमजोरी, प्रायः सबै चाडपर्वका बेला नेपाली बजारमा कालोबजारी र मूल्यवृद्धिको समस्या देखिन्छ। तर, सम्बन्धित निकायको चासो र निगरानी कमजोर हुँदा उपभोक्ता सधैं मारमा पर्ने गरेका छन्।
उपभोक्ताको हितमा कुनै पनि ठोस कदम सरकारले चाल्न सकेको छैन, एक उपभोक्ता अधिकारकर्मी भन्छन्, योजनाबद्ध अनुगमन र कडा कारबाही आवश्यक छ।




.gif)





