काठमाडौँ । असोज २६, ओमानको अल अमिरातस्थित ओमान क्रिकेट एकेडेमी टर्फ १ मा आइतबार सम्पन्न खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएइ)लाई एक रनले हराउँदै सन् २०२६ मा हुने आइसीसी टी–२० विश्वकपमा छनोट नजिक पुगेको छ।
नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै २० ओभरमा ६ विकेट गुमाएर १४० रन बनायो। जवाफमा युएइ २० ओभरमा ९ विकेट गुमाएर १३९ रनमा समेटियो।
नेपालका लागि आसिफ शेखले ५१ रनको अर्धशतकीय इनिङ्स खेले भने कुशल भुर्तेलले २८ रन बनाए। गुलसन झाले ५ बलमा आकर्षक १४ रन जोड्दै महत्वपूर्ण योगदान दिए।
बलिङमा दिपेन्द्रसिंह ऐरी नायक सावित भए। उनले ४ ओभरमा २२ रन दिँदै ३ विकेट लिए। अन्तिम ओभरमा १० रन रक्षा गर्दै नेपाललाई रोमाञ्चक जित दिलाएका उनले म्यान अफ दि म्याचको उपाधि जिते।
युएइका अलिसन सराफूले ५८ रन बनाए भने जोनाथन फिगीले सशक्त साथ दिएका थिए। तर ऐरीको प्रभावशाली बलिङका कारण युएइ जितबाट एक रनले चुक्यो।
सुपर सिक्स चरणमा चार अंकसहित अपराजित नेपाल अब सोमबार कतार, बुधबार सामोआ र शुक्रबार ओमानसँग खेल्नेछ। शीर्ष तीन स्थानमा रहने टोलीले सन् २०२६ को टी–२० विश्वकपमा स्थान बनाउनेछ।




.gif)





