काठमाडौँ । एकसाथ प्रदर्शनमा आएका तीन फिल्म ‘बा : एक योद्धा’, ‘आचार्य’ र ‘जदौ’ मध्ये ‘बा : एक योद्धा’ले सबै भन्दा राम्रो व्यवसाय गर्न सफल भएको छ । चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको प्रदर्शनरत फिल्महरूको गत साताको बक्स अफिस रिपोट अनुसार ‘बा : एक योद्धा’ सबैभन्दा अगाडि देखिएको हो ।आइतबार राति ११ः५९ बजेसम्मको सिनेपा बक्स अफिस रिपोट अनुसार फिल्म हालसम्म ६५ हजार ५६० जनाले हेरेका छन् । फिल्मको व्यवसाय १ करोड ९३ लाख ६ हजार ४६५ रुपैयाँ ग्रस आम्दानी रहेको छ ।
नेपाली समाजमा सन्तानको सुखद भविष्यका लागि बाबुले गर्ने जीवनभरको त्याग, सङ्घर्ष र वृद्धावस्थामा आफ्नै सन्तानबाट भोग्नुपर्ने उपेक्षाको मर्मस्पर्शी कथा बोकेको फिल्म हरि लम्सालले निर्देशन गरेका हुन् । फिल्ममा दिव्य देव, सुहाना थापा, झरना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापा लगायतका कलाकारको अभिनय रहेको छ ।त्यस्तै, फिल्म ‘आचार्य’ ५४ हजार १०६ जनाले हेरेका छन् । फिल्मले १ करोड ५६ लाख ६७ हजार ५४६ रुपैयाँ ग्रस कलेक्सन गर्न सफल भएको छ । एक्सन स्टार निखिल उप्रेतीको होम प्रोडक्सनमा निर्माण भएको ‘आचार्य’ मार्फत उप्रेतीले करिब ११ वर्षपछि अभिनय तथा निर्देशनमा पुनरागमन (कमब्याक) गरेका हुन् । निखिलको अलवा दक्षिण भारतीय कलाकारहरू रघु बाबू र रघु करुमन्ची, बलिउड कलाकारहरू दीपजङ्ग राणा र रोहित चौधरीका साथै सजिना श्रेष्ठ, पूर्णिका सिजापति लगायतको अभिनय छ ।
एकसाथ प्रदर्शनमा आएका फिल्म मध्य सबै भन्दा कमजोर व्यवसाय ‘जदौ’ ले गरेको छ । ३ हजार ८६७ जनाले मात्र हेरेको यो फिल्मले १३ लाख ९८ हजार ७१५ रुपैयाँको मात्र आम्दानी गरेको छ ।अन्तर्जातीय सम्बन्ध, सामाजिक विभेद र गरिब वर्गमाथि हुने शोषण–उत्पीडनको विषयलाई मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गरिएको ‘जदौ अन्जन शर्मा र काजी लिम्बूको संयुक्त निर्देशनमा तयार भएको हो । फिल्ममा मुकुन भुसाल, नीति शाह, प्रभात पाल ठकुरी, ऋचा शर्मा, गीता अधिकारी, नरेश पौडेल र राजश्री थापा लगायत कलाकारको मुख्य भूमिका छ ।




.gif)





