काठमाडौँ । असोज २६, इजरायल र हमासबीच जारी युद्धविराम योजनाको पहिलो चरण अन्तर्गत सोमबार रिहा गरिने बन्धकहरूको सूचीमा नेपाली नागरिक विपिन जोशीको नाम समावेश गरिएको छ। टाइम्स अफ इजरायल ले सार्वजनिक गरेको जीवित बन्धकहरूको नयाँ सूचीमा जोशीको नाम पनि उल्लेख गरिएको हो।
यसअघि अमेरिकी समाचार संस्थाले सार्वजनिक गरेको सूचीमा विपिन ूअज्ञात अवस्थाकाू रुपमा सूचीबद्ध थिए। तर हाल सार्वजनिक भएको सूचीमा विपिन जीवित अवस्थामा रहेको उल्लेख गरिएको छ। यद्यपि, हमासले औपचारिक रुपमा अझै पूर्ण जीवित बन्धकहरूको नामावली प्रदान गरिसकेको छैन।
हमास र इजरायलबीचको युद्धविराम सहमति अनुसार सोमबार सम्म २० जना जीवित बन्धक र २८ शव हस्तान्तरण गरिने सहमति भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। वासिङ्गटन पोस्टले एपीको सहयोगमा प्रकाशित समाचारमा विपिन सहित २२ जना बन्धक जीवित रहेको विश्वास इजरायलले गरेको उल्लेख छ। विपिनको संक्षिप्त परिचय समेत उक्त समाचारमा समेटिएको छ।
युद्धविरामको प्रक्रिया शुक्रबार देखि सुरु भइसकेको छ, जसले २०२३ अक्टोबर ७ देखि सुरु भएको दुई वर्षे युद्ध अन्त्य हुने आशा जगाएको छ। सहमति अनुसार सोमबार दिउँसो १२ बजे (नेपाली समय अनुसार अपराह्न २ः४५ भित्र) बन्धकहरूको हस्तान्तरण प्रक्रिया सम्पन्न हुनुपर्ने छ।
तर, हमासले भने सबै बन्धकहरू निर्धारित समयमा हस्तान्तरण गर्न नसकिने भन्दै थप समयको माग गरेको छ।
यसैबीच, गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार युद्धले हालसम्म ६७ हजार भन्दा बढी प्यालेस्टिनीको ज्यान लिएको छ। मारिनेहरूमध्ये करिब आधा महिला र बालबालिका रहेको बताइएको छ। साथै, गाजाको करिब ९० प्रतिशत जनसंख्या विस्थापित भइसकेको छ।




.gif)





