मस्कट, ओमान । ओमानमा जारी टी–२० विश्वकप एशिया तथा इस्ट एशिया प्यासिफिक क्षेत्रीय छनोट अन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा जापानलाई ५ विकेटले पराजित गरेको छ। यस जितसँगै नेपाल समूह विजेता बन्दै सुपर सिक्स चरणमा प्रवेश गर्न सफल भएको छ।
नेपाली समय अनुसार साँझ ४ः१५ बजे सुरु भएको खेलमा नेपालले टस जितेर जापानलाई पहिले ब्याटिङ्गको निम्तो दिएको थियो। जापानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३१ रन बनायो। नेपालका लागि सन्दिप लामिछाने र गुल्शन झाले समान दुई दुई विकेट लिए।
१३२ रनको लक्ष्य लिएर जवाफी ब्याटिङ्गमा उत्रिएको नेपालले १८ ओभरमै लक्ष्य पूरा गर्दै ५ विकेटको जित हात पार्यो। ओपनर आशिफ शेखले सर्वाधिक ३८ रन बनाए भने गुल्शन झा २८ रनमा अविजित रहे।
यसअघि नेपालले पहिलो खेलमा कुवेतलाई पराजित गरेको थियो। लगातार दुई जितपछि नेपालले समूह चरणको अन्त्यमा शीर्ष स्थानमा रहँदै सुपर सिक्स चरणमा आफ्नो स्थान सुनिश्चित गरेको हो।




.gif)





