मनिला, फिलिपिन्स । शुक्रबार बिहानः फिलिपिन्सको मिन्डानाओ क्षेत्रलाई केन्द्रविन्दु बनाएर ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ विभागका अनुसार, भूकम्पको धक्का समुद्रको सतहदेखि गहिराइमा महसुस गरिएको थियो।
भूकम्पपछि फिलिपिन्सका तटीय क्षेत्रमा तीन मिटरसम्म अग्लो सुनामीको लहर आउन सक्ने चेतावनी जारी गरिएको छ। तटीय बासिन्दाहरूलाई सतर्क रहन र तत्काल सुरक्षित उच्च स्थानमा जान भनिएको छ।
इन्डोनेशियाको उत्तरी क्षेत्र, विशेष गरी सुलावेसी र पापुआ मा समेत सुनामीको सम्भावना देखिएकोले त्यहाँ पनि सतर्कता अपनाउन अनुरोध गरिएको छ। फिलिपिन्स र इन्डोनेशियाको तटीय इलाकामा बसोबास गर्ने जनतालाई सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ।
सुरक्षाका दृष्टिले तटीय क्षेत्रमा रहेका विद्यालयहरू, कार्यालयहरू र बजारहरू अस्थायी रूपमा बन्द गरिएको बताइएको छ। हालसम्म कुनै मानवीय क्षति वा ठूला भौतिक क्षतिको विवरण आइसकेको छैन, तर खोज र उद्धार टोलीहरू तयारी अवस्थामा राखिएको सरकारी अधिकारीहरूले जनाएका छन्।




.gif)





