गाजा,काहिरा, (बिहीबार) इजरायल र हमासबीच बिहीबार एक युद्धविराम सम्झौतामा सहमति भएको खबरले दुई वर्षभन्दा बढी चलेको रक्तपात पूर्ण द्वन्द्रको सम्भावित अन्त्यतर्फको उम्मीद जगाएको छ। सम्झौताले बाँकी जीवित इजरायली बन्धकहरू केही दिनभित्रै मुक्त हुने बाटो खोल्नेछ र गाजामा मानवीय सहायता छिटो प्रवेश गराउने प्रस्ताव अघि राखेको छ। सम्झौतामा बिहीबारै हस्ताक्षर हुने बताइएका छन्।
सम्झौताका मुख्य बुँदा,हमासले सम्झौताको पहिलो चरणमा करिब २ हजार प्यालेस्टिनी कैदीहरूको सट्टामा २० जीवित इजरायली बन्धक रिहा गर्नेछ।आदानप्रदान सम्झौता कार्यान्वयन भएको ७२ घण्टाभित्र सम्पन्न हुनेछ। इजरायलले सयौँ प्यालेस्टिनी कैदी रिहा गर्न सहमति गर्नेछ र गाजामा मानवीय सहयोग बढाउने प्रावधान रहनेछ।
दस्तावेज अनुसार इस्लामिक जिहाद र प्यालेस्टाइन मुक्ति लोकप्रिय मोर्चाका प्रतिनिधिहरू पनि वार्तामा सहभागी हुने जनाइएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजिप्टमा भएको वार्तापछि भने, “हमासले सबै बन्धकहरूलाई मुक्त गर्नेछ र इजरायली सेनाले सहमति भएको रेखासम्म फिर्ता हुनेछ। म विश्वस्त छु, सबै बन्धकहरू सोमबारसम्म फिर्ता हुनेछन्।” ट्रम्पले गाजाको पुनर्निर्माण र शान्ति स्थापनामा वासिङ्टनको सक्रिय भूमिका रहने बताए र यो सम्झौतालाई स्थायी शान्तिमा एक प्रारम्भिक कदम भनेका छन्।
हमासभित्रका एक वरिष्ठ स्रोतका अनुसार समझौताका पहिलो चरणमा रिहा गर्न चाहेका प्यालेस्टिनी कैदीहरूको सूची इजरायललाई दिइसकिएको छ। समझौता अनुसार २५० जना आजीवन कारावास सजाय पाएका र एक हजार सात सय अन्य प्यालेस्टिनी कैदीहरू रिहा गरिने सूचना समेत उल्लेख छ। हमासले बाँकी रहेको ४७ जना बन्धक (जीवित र मृत दुवै) मुक्त गर्ने तयारी गरेको जनाएको छ । ती सबै बन्धकहरू २०२३ अक्टोबर ७ मा भएको हमास आक्रमणका क्रममा नियन्त्रणमा आएका थिए।
दुवै पक्षका प्रतिक्रिया र स्थानीय अवस्थाः इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले भने, “भगवानको कृपाले हामी हाम्रा नागरिकहरूलाई घर फर्काउनेछौँ।” उनले सम्झौताको अनुमोदनका लागि मन्त्रिपरिषद् बैठक बिहीबारै बस्ने उल्लेख गरे।
कतारले सम्झौतालाई “गाजा युद्धविरामको पहिलो चरण” भन्दै स्वागत गरेको छ र यो सम्झौतालाई युद्धको अन्त्य, बन्धक तथा कैदीहरूको रिहाइ र मानवीय सहयोग प्रवेशको प्रारम्भको रूपमा व्याख्या गरेको छ।
गाजाका विस्थापित नागरिक समीर जुदेहले भने, “दुई वर्षसम्म हामी निरन्तर बम, आतंक, विनाश र मृत्युको डरमा बाँच्यौँ‘ आज जब यो खबर सुनेँ, खुसीका आँसु रोक्न सकिनँ।”
घटनाक्रम र क्षति आँकडा,इजरायली पत्रकारिक सूत्र अनुसार युद्ध २०२३ अक्टोबरको हमास आक्रमणपछि सुरु भएको थियो। आधिकारिक इजरायली तथ्याङ्कले हमासको आक्रमणमा १,२१९ जनाको मृत्यु भएको र २५१ जनालाई गाजामा बन्धक बनाइएको रिपोर्ट गरेको छस ती मध्ये ४७ जना अझै बाँकी छन् र इजरायली सेनाका अनुसार तीमध्ये २५ को मृत्यु भइसकेको छ।
हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयले इजरायली सैन्य आक्रमणमा कम्तीमा ६७,१८३ जनाको मृत्यु भएको दाबी गरेको छ, संयुक्त राष्ट्रसङ्घले यो तथ्यांकलाई विश्वसनीय मानेको उल्लेख छ। रिपोर्टअनुसार मृतक मध्ये आधा भन्दा बढी महिला र बालबालिका रहेको जनाइएको छ।
स्थिति तत्कालिक रहेकाले युद्धविराम घोषणा अघि पनि गाजामा बमबारी जारी थियो र नागरिक सुरक्षा निकायका अनुसार सम्झौता घोषणा हुनु केही घण्टा अघि समेत विस्फोटको आवाज सुनिएको थियो। संयुक्त राष्ट्रसङ्घले गाजामा गम्भीर मानवीय सङ्कट र अनिकालको चेतावनी जारी गरिसकेको छ भने विश्वभरि दबाबले युद्ध अन्त्यको मागलाई तीव्र बनाएको छ।
सम्झौताको पूर्ण कार्यान्वयन, बन्धक कैदीको सूची र रिहाइको सटीक तालिका, र गाजाको दीर्घकालीन पुनर्निर्माण तथा शान्ति प्रत्याभूतिको विस्तृत संरचना अझै स्पष्ट हुन बाँकी छन्। वार्ता सम्बद्ध पक्षहरूले हस्ताक्षरपछि अर्को चरणका प्रविधिक र राजनीतिक छलफलहरू अघि बढाउने अपेक्षा छ।




.gif)





