काठमाडौँ । असोज २२, नेपालीको महान् चाड बडादशैंका अवसरमा नुवाकोट जिल्लामा करिब ४ करोड १५ लाख रुपैयाँ बराबरको खसीबोका तथा मासुजन्य वस्तुको कारोबार भएको छ।
पशु सेवा कार्यालय नुवाकोटका अनुसार यस वर्षको दशैंमा नुवाकोटबाट ३ करोड १५ लाख रुपैयाँ बराबरको १ हजार ५ सय वटा खसीबोका काठमाडौं, धादिङ र चितवन सहितका जिल्लाहरूमा निर्यात गरिएको छ।
कार्यालयका प्रमुख डा.निशान्त शर्मा गेलालले बताए अनुसार, नुवाकोटका खसीबोका स्वास्थ्यकर र सुपाच्य हुने भएकाले खरिदकर्ताको आकर्षण बढेको हो। उनले नुवाकोट भित्रकै बजारमा पनि करिब ४ करोड १५ लाख रुपैयाँ बराबरको खसीबोका, राँगो, कुखुरा तथा माछाजन्य वस्तुहरूको खपत भएको जानकारी दिए।
उनका अनुसार, ३० किलोग्राम सम्मको खसीबोका प्रतिकिलो ५५० देखि ५८० रुपैयाँ र ३० किलोभन्दा माथिको खसीबोका ६०० देखि ६२० रुपैयाँ सम्मको दरमा बिक्री भएको हो।
यसैबीच, चीनको केरुङबाट भेडाच्यांग्रा आयात नहुँदा खसीबोका मागमा वृद्धि भएको र त्यसको प्रत्यक्ष लाभ नुवाकोटका पशुपालक कृषकहरूले लिएका छन्।
नुवाकोटमा हाल १ सय ७५ वटा व्यावसायिक बाख्रापालन फर्महरू सञ्चालनमा रहेका छन्। केही कृषकहरूले यस वर्षको दशैंमा एकैपटक १० वटा खसीबोका समेत बिक्री गरेका छन्।
नुवाकोटको भौगोलिक बनावट र अनुकूल वातावरणका कारण यहाँको बाख्रापालन व्यवसाय फलिफाप भएको देखिन्छ। बडादशैंको यस कारोबारले नुवाकोटको ग्रामीण अर्थतन्त्रलाई टेवा पुर्याएको पशुसेवा कार्यालयले जनाएको छ।




.gif)





