काठमाडौँ । पछिल्लो समय भोजपुरका किसानहरू परम्परागत खेतीसँगै व्यावसायिक मौरीपालन तर्फ आकर्षित भइरहेका छन्। लागत कम, आम्दानी राम्रो र बजारमा सजिलै माग हुने भएकाले मौरीपालन यहाँका किसानको रोजाइको पेसा बन्दै गएको हो।
टेम्केमैयुङ, पौवादुङमा, रामप्रसाद राई गाउँपालिका लगायत जिल्लाका अधिकांश स्थानीय तहमा मौरीपालन व्यापक रूपमा विस्तार हुँदै गएको छ। विशेषगरी रामप्रसाद राई गाउँपालिका–६ वैकुण्ठे क्षेत्रमा मौरीपालनको उत्कृष्ट सम्भावना देखिएको छ। यहाँको वनजङ्गल, फुल्ने वातावरण र मौरीको लागि उपयुक्त मौसमले किसानहरूलाई आकर्षित गरेको छ।
गाउँपालिका–६ का अध्यक्ष एकराज आचार्यका अनुसार किसानहरूलाई आधुनिक मौरीपालनमा लैजान दुई चरणमा तालिम संचालन गरिएको छ। तालिम मार्फत किसानहरूले आधुनिक मौरीघार निर्माण, मौरीको हेरचाह, रोग व्यवस्थापन र मह संकलनको प्रविधि सिकेका छन्।
“पहिले किसानहरूले परम्परागत मुढेघारमा मौरी पाल्ने गर्थे”, वडाध्यक्ष आचार्यले बताए, “अब हामीले उनीहरूलाई प्रविधिमैत्री मौरीपालनमा लैजाँदैछौं, जसले आम्दानीमा ठुलो प्रभाव पार्नेछ।”
स्थानिय किसान शरणकुमार वोहोरा व्यावसायिक मौरीपालनको उदाहरणीय पात्र बनेका छन्। तालिम पछि उनले आधुनिक घार निर्माण गर्दै अहिले ३५ वटा मौरीघार सञ्चालनमा ल्याएका छन्। “पहिले मुढेघारमा उत्पादन कम हुन्थ्यो, अहिले आधुनिक घारमा उत्पादन धेरै छ,” उनले भने, “मौरीपालनले मेरो आयआर्जनमा सकारात्मक परिवर्तन ल्याएको छ।”
रामप्रसाद राई गाउँपालिका अध्यक्ष थामबहादुर राईका अनुसार मौरीपालनलाई प्राथमिकता दिँदै नीति तथा कार्यक्रम समावेश गरिएको छ। “कृषि व्यवसायलाई आत्मनिर्भर र व्यावसायिक बनाउने उद्देश्यले योजनाबद्ध रूपमा काम भइरहेको छ,” अध्यक्ष राईले बताए, “किसानलाई आवश्यक प्राविधिक ज्ञान र उपकरण पनि दिइएका छन्।”
मौरीपालनले गाउँमै रोजगारी सिर्जना गर्नुका साथै गाउँको अर्थतन्त्र सबल बनाउन मद्दत गरिरहेको किसानहरूको भनाइ छ। बजार विस्तार, गुणस्तरीय प्याकेजिङ र ब्राण्डिङ गर्न सके भोजपुरको मह देशभरि मात्र नभई विदेश सम्म निर्यात गर्न सकिने सम्भावना मौरीपालकहरूले देखेका छन्।




.gif)





