काठमाडौँ । असोज २२, सुनसरीमा गत शनिबार र आइतबारको अविरल वर्षासँगै आएको हावाहुण्डरीका कारण सुनसरी जिल्लाका विभिन्न स्थानमा गरिएको केराखेतीमा व्यापक क्षति पुगेको छ।
सदरमुकाम इनरुवा, भोक्राहा, हरिनगर लगायतका क्षेत्रमा किसानले लगाएको केराखेती हावाहुरीका कारण ढलेको छ भने कतिपय स्थानमा बाढीले खेत डुबानमा परेको छ।
भोक्राहा नरसिंह गाउँपालिका–२ निवासी एयुब साह मियाँले भाडामा लिएको सात बिघा जमिनमा रु छ लाख लगानी गरी व्यावसायिक रूपमा केराखेती गर्दै आएका थिए। तर, पछिल्लो प्राकृतिक विपत्तिका कारण मियाँको तीन बिघा एक कट्ठा क्षेत्रफलमा लगाएको केराखेती नष्ट भएको छ। उनले करिब रु १३ लाखभन्दा बढीको क्षति भएको जानकारी दिए।
हरेक वर्ष बाढी र प्राकृतिक प्रकोपले रु १० देखि २५ लाखसम्मको क्षति बेहोर्नुपरेको छ, मियाँले बताए।
त्यस्तै, स्थानीय वीरेन्द्र ठाकुरले सात कट्ठा जमिनमा केराको व्यवसायिक खेती गर्दै आएका थिए। रु एक लाख लगानी गरेर गरिएको उनको खेतीमा पनि ठूलो क्षति पुगेको छ।
कृषकहरूका अनुसार, जिल्लामा व्यावसायिक केरा सहित अन्य बालीहरू पनि प्राकृतिक विपत्तिले प्रभावित भएका छन्।
कृषि ज्ञान केन्द्र, सुनसरीका प्रमुख नीलकमल सिंहका अनुसार, चालु वर्षमा जिल्लामा ५३० हेक्टर क्षेत्रफलमा केराखेती गरिएको छ। प्राकृतिक विपत्तिका कारण भएको क्षतिको विवरण सङ्कलन भइरहेको छ, प्रमुख सिंहले जानकारी दिए।




.gif)





