काठमाडौँ । असोज २०,सिटिजन्स क्यापिटल लिमिटेडले आर्थिक वर्ष २०८१।८२ को मुनाफाबाट आफ्नो म्युचुअल फण्ड तथा क्यापिटल आम्दानी समेत गरी कुल २८ करोड ५ लाख २१ हजार २० रुपैयाँ बराबरको नगद लाभांश वितरण सुरु गरेको छ।
कम्पनीका अनुसार, सिटिजन्स म्युचुअल फण्ड २ का इकाइधनीहरूलाई ८.२५ प्रतिशत नगद लाभांश अन्तर्गत ४ करोड ६२ लाख रुपैयाँ र सिटिजन्स सुपर ३० म्युचुअल फण्ड का इकाइधनीहरूलाई १२.७५ प्रतिशत नगद लाभांश अन्तर्गत ९ करोड ५७ लाख १७ हजार २९७ रुपैयाँ वितरण भदौ २० गते देखि सुरु गरिएको हो।
यसअघि परिपक्व भइसकेको सिटिजन्स म्युचुअल फण्ड १ ले पनि खुद सम्पत्ती मूल्य ११.३० को आधारमा ९२ करोड ६६ लाख ३ हजार ७२३ रुपैयाँ वितरण गर्दै आएको छ। सो लाभांशमा अन्तिम वर्षको १३ प्रतिशत नगद लाभांश अर्थात् १० करोड ६६ लाख ३ हजार ७२३ रुपैयाँ समेत समावेश छ, जुन जेठ २७ गतेदेखि वितरण सुरु गरिएको थियो।
त्यस्तै, सिटिजन्स क्यापिटल लिमिटेडले आफ्ना सेयरधनीहरूलाई समेत ३ करोड २० लाख रुपैयाँ बराबरको नगद लाभांश वितरण भदौ २० गते देखि सुरु गरेको जनाएको छ।
कम्पनीले विगत वर्षका बाँकी लाभांश अझै नबुझेका इकाइधनीहरूलाई आफ्नो बैंक खाता अद्यावधिक गरी सम्पर्क गर्न अनुरोध गरेको छ।
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सिटिजन्स क्यापिटल लिमिटेड, सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको सहायक कम्पनी हो। कम्पनीमा कर्मचारी सञ्चय कोष तथा प्रतिष्ठित उद्योगी व्यवसायीहरूको सह–लगानी रहेको छ।
कम्पनीको रजिष्ट्रार कार्यालय डिल्लीबजार बाटुलेघर, काठमाडौँमा रहेको छ। हाल कम्पनीको अध्यक्षमा राजेन्द्र लाल श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृतमा सबिर बादे श्रेष्ठ रहेका छन्।




.gif)





