काठमाडौँ । असोज २०, गण्डकी प्रदेशमा कृषियोग्य जमिनको खण्डीकरण, तीव्र बस्ती विस्तार र बाँझो जमिनको संख्यामा वृद्धि भएपछि मुख्य खाद्यान्न बाली विशेष गरी धान खेतीको क्षेत्रफल बर्सेनि घट्दै गएको छ। तर, उन्नत प्रविधि र अनुकूल मौसमका कारण उत्पादन भने केही हदसम्म बढेको देखिएको छ।
प्रदेशको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७९।८० मा ९७ हजार ७६९ हेक्टर जमिनमा धान खेती गरिएको थियो भने ०८०।८१ मा यो क्षेत्रफल घटेर ९६ हजार ५३ हेक्टरमा सीमित भयो। चालु वर्षमा झनै घट्दै ९४ हजार १८२ हेक्टरमा मात्र रोपाइँ भएको मन्त्रालयका सचिव वासुदेव रेग्मीले जानकारी दिए।
बर्सेनि औसत दुई हजार हेक्टरले रोपाइँको क्षेत्रफल घटिरहेको छ, रेग्मीले भने, घरघडेरीका नाममा उब्जाउ जमिन नासिँदै जानुले यो समस्या निम्तिएको हो।
उनका अनुसार पहाडी भेगमा बढ्दो बसाइँसराइ, वैदेशिक रोजगारी प्रति आकर्षण, कृषि जनशक्तिको अभाव, र कृषिमा घट्दो आकर्षणले गर्दा खेतीयोग्य जमिन बाँझो रहन थालेको हो।
उत्पादनमा सुधार,क्षेत्रफल घट्दो क्रममा भए पनि उत्पादन भने अघिल्ला वर्षको तुलनामा केही बढेको छ। दुई वर्ष अघि प्रतिहेक्टर ३.६ मेट्रिक टन धान उत्पादन भएकोमा गत वर्ष ३.७३ मेट्रिक टन पुगेको सचिव रेग्मीले बताए।
उन्नत बीउ, रासायनिक मलको सहज उपलब्धता, सिँचाइको पहुँच, कीराको प्रकोप नहुनु लगायतका कारणले उत्पादनमा वृद्धि भएको उनले बताए। सिँचाइ, उन्नत बीउ, मल व्यवस्थापन र प्रविधिको प्रयोगले किसानले थोरै जमिनबाट पनि राम्रो उत्पादन गर्न सक्ने सम्भावना छ, रेग्मीले भने।
चक्लाबन्दी मार्फत सुधारको प्रयास,कृषिमा यान्त्रीकरण र आधुनिकीकरणलाई टेवा पुर्याउने उद्देश्यले गण्डकी प्रदेशमा चक्लाबन्दी कार्यक्रम पनि सञ्चालनमा आएको छ। मन्त्रालयका अनुसार कास्की, तनहुँ, बागलुङ, मुस्ताङ, स्याङ्जा र नवलपुर जिल्लाका २९ स्थानमा कुल ५ हजार ४९६ हेक्टर जमिनमा चक्लाबन्दी गरिएको छ।
जग्गा छरिएर भएकोले यान्त्रिक खेती असम्भवजस्तै हुन्थ्यो, मन्त्रालयको भूमि स्रोत नक्साङ्क महाशाखाले जनाएको छ, चक्लाबन्दीपछि यान्त्रीकरण सम्भव भई बाँझो जमिनमा पनि खेती हुन थालेको छ।
चक्लाबन्दीमा ९० प्रतिशत अनुदान प्रदेश सरकारले उपलब्ध गराएको छ भने १० प्रतिशत किसानले आफ्नै लगानी गरेका छन्। यस्ता स्थानहरूमा कृषिउपकरण खरिदमा समेत सहकारी तथा समूहहरूलाई सहयोग गरिएको मन्त्रालयले जनाएको छ।
प्रमुख पकेट क्षेत्रहरू,गण्डकी प्रदेशका नवलपुर, कास्की, स्याङ्जा, तनहुँ लगायत जिल्लाहरू धान खेतीका लागि मुख्य पकेट क्षेत्र मानिन्छन्। गोरखा, लमजुङ, पर्वत, म्याग्दी, बागलुङ लगायत जिल्लामा पनि विभिन्न स्थानलाई पकेट क्षेत्रको रूपमा चिनिएको छ। यहाँ ‘सावित्री’, ‘रामधान’, ‘जेठोबुढो’, ‘खुमल’, ‘गौरिया’, ‘सुनौलो सुगन्ध’ लगायत धानका उन्नत जातहरूको खेती हुँदै आएको छ।
सचिव रेग्मीका अनुसार अन्य खाद्यान्न बाली मकै, कोदो, फापर, जौको उत्पादन र क्षेत्रफल दुवै घट्दो क्रममा छन्। यस्तोमा व्यावसायिक कृषि प्रणालीमा जोड दिनु विकल्प विहीन भएको उनको भनाइ छ।




.gif)





