काठमाडौँ । भारत र चीनबीच पाँच वर्षपछि पुनः सिधा हवाई सेवा सञ्चालन हुने भएको छ। भारतको सबैभन्दा ठूलो वायुसेवा कम्पनी इन्डिगोले आउँदो अक्टोबर २६ देखि कोलकाता र चीनको ग्वाङ्झाउ सहरबीच दैनिक नन स्टप उडान सेवा सुरु गर्ने घोषणा गरेको छ।
यस बाहेक, नयाँ दिल्ली र चीनका अन्य प्रमुख सहरहरू बीच पनि उडान सेवा विस्तार गर्ने तयारी भइरहेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्। सन् २०२० यता बन्द रहेको सीधा हवाई सेवाले पुनः गति लिनुका पछाडि दुई देशका नागरिक उड्डयन प्राधिकरणहरू बीच लामो समय देखि भएको छलफल निर्णायक बनेको हो।
चीन भारतको सबैभन्दा ठूलो द्विपक्षीय व्यापार साझेदार भए पनि पछिल्ला वर्षहरूमा महामारी र सीमा सम्बन्धी तनावका कारण सीधा उडानहरू स्थगित भएका थिए। तर, हालै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको चीन भ्रमण र शाङ्घाई सहयोग संगठन (एससीओ) को क्षेत्रीय सुरक्षा बैठकमा सहभागी भए सँगै दुई देशबीचको सम्बन्धमा नयाँ गतिशीलता देखिएको छ।
प्रधानमन्त्री मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङबीचको भेटमा व्यापार, पर्यटन, भिसा प्रक्रिया र सञ्चार तथा व्यवसायिक व्यक्तिहरूको आवागमन सहज बनाउन सहमति भएको थियो। त्यसपछि प्राविधिक तहमा निरन्तर वार्ताहरू अघि बढाइएका थिए।
नयाँ सहमति अनुसार, दुवै देशका तोकिएका वायुसेवा कम्पनीहरूले तोकिएका गन्तव्यमा सिधा उडान सञ्चालन गर्न सक्नेछन्। यो व्यवस्था आउँदो जाडो मौसमी तालिकाबाट लागू हुने बताइएको छ।
सीधा उडान पुनः सुरु हुनु व्यापार, पर्यटन तथा रणनीतिक साझेदारीका लागि नयाँ अवसरको रुपमा हेरिएको छ।




.gif)





