काठमाडौँ । असोज १७, भारतको ओडिसाबाट विकसित भएको न्यून चापीय प्रणालीका कारण अहिले भारतको बिहार राज्यमा भारी वर्षा भइरहेको छ। भारतीय मौसम विभागका अनुसार गया, कैमूर, पश्चिम चम्पारण लगायतका जिल्लाहरूमा अत्यधिक भारी वर्षा भइरहेको छ र हाई अलर्ट जारी गरिएको छ।
पूर्वी चम्पारण, गोपालगञ्ज, सिवान, रोहतास, औरंगाबाद र नवादा जिल्लामा समेत अति भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ। मौसम विभागले ३०–४० किलोमिटर प्रतिघण्टाको गतिमा हावा चल्ने र आँधी बेहरीको चेतावनी समेत दिएको छ।
भारी वर्षाका कारण गंगा, कोसी, सोन, बागमती, गण्डक, कमला र अधवारा नदीहरूको जलस्तर तीव्र रूपमा बढेको छ। विशेषगरी गंगा नदी भागलपुर र पटना क्षेत्रमा खतराको संकेत भन्दा माथि पुगिसकेको छ।
बिहारको मौसमी प्रणाली शनिबार देखि नेपाल प्रवेश गर्ने अनुमान गरिएको छ। नेपालको मौसम पूर्वानुमान महाशाखाका अनुसार यो प्रणाली वीरगञ्ज हुँदै प्रवेश गरी मधेस, बागमती र गण्डकी प्रदेशमा व्यापक असर पार्नेछ।
विशेषगरी वीरगञ्ज, जनकपुर, चितवन, काठमाडौं, मकवानपुर, धादिङ, गोरखा र तनहुँ जिल्लामा भारी देखि अति भारी वर्षा हुन सक्ने प्रक्षेपण गरिएको छ। यसबाट बाढी, डुबान र पहिरोको उच्च जोखिम रहनेछ।
डुबान र जनधनको क्षतिको चेतावनी,विपद् व्यवस्थापन प्राधिकरणले गत वर्ष असोज १२–१३ गते जस्तै बाढी र डुबानको सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। तल्लो भूभागका बस्ती तथा सडक मार्गहरू अवरुद्ध हुने सम्भावना रहेकाले स्थानीय तहलाई सतर्क रहन निर्देशन दिइएको छ।
काठमाडौं उपत्यकामा पनि हनुमन्ते, बागमती, धोबीखोला, नख्खु र विष्णुमती किनाराका बासिन्दालाई सतर्कता अपनाउन भनिएको छ। यी नदीहरू आसपास डुबानको जोखिम उच्च रहेको छ।
सोमबारदेखि मौसममा सुधार हुने,मौसमविद्हरूका अनुसार शनिबार र आइतबार भारी वर्षा भइरहे पनि सोमबार देखि क्रमशः मौसममा सुधार आउनेछ। यद्यपि केही स्थानमा छिटपुट वर्षा भने जारी रहने सम्भावना छ।




.gif)





