काठमाडौँ । असोज १४, आज आश्विन शुक्ल अष्टमीका दिन नवरात्रको नवौँ दिनको अवसरमा बडादशैं अन्तर्गत नौ दुर्गामध्येकी आठौँ देवी महागौरीको विधिपूर्वक पूजा–आराधना गरिँदैछ। तिथि गणनाअनुसार यस वर्ष चतुर्थी तिथि वृद्धि भएकाले नवौँ दिन महागौरी देवीको पूजा गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य तथा धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराईले जानकारी दिएका छन्।
महागौरीको कथा र स्वरूप,पुराण अनुसार प्रारम्भमा महागौरी देवीको वर्ण केही कालो थियो। भगवान् शिवले ख्यालमा ‘ए काली’ भनी सम्बोधन गरेपछि देवीले कठोर तपस्या गरी उज्वल गोरो वर्ण प्राप्त गरेकी थिइन्। त्यसैले ‘महागौरी’ नाम रहन गएको धार्मिक मान्यता छ। देवी सेतो वृषभमाथि आरूढ, श्वेत वस्त्रधारी, सौम्य र गोरो वर्णकी स्वरूपमा वर्णित छन्।
नवरात्र आरम्भदेखि आजसम्मको पूजा–क्रम,नवरात्रको पहिलो दिन असोज ६ गते सोमबार वैदिक विधिपूर्वक घटस्थापना गरी देवी शैलपुत्रीको पूजा गरिएको थियो। त्यसपछिका दिनहरूमा क्रमशः ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी र कालरात्रि देवीहरूको विधिपूर्वक पूजाआराधना गरियो।
आज आठौँ देवी महागौरीको पूजा भइरहेको छ भने भोलि नवरात्रको अन्तिम दिन सिद्धिदात्री देवीको पूजा गरिनेछ।
नवरात्रभर पूजा गरिएको स्थलमा दुर्गासप्तशती (चण्डी), श्रीमद्देवीभागवत र अन्य देवी स्तोत्रहरूको पाठ गरिन्छ। धार्मिक विश्वास अनुसार, नवरात्रमा दुर्गा देवीको आराधनाले शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने मान्यता छ।
शक्तिपीठमा भक्तजनको भीड, फूलपातीपछिको चहलपहल,नवरात्रको सातौँ दिन सोमबार फूलपाती भित्र्याइएपछि बडादशैंको विशेष रौनक सुरु भएको छ। यस अवसरमा देशभरका शक्तिपीठहरूमा पूजाआराधना र दर्शन गर्ने भक्तजनहरूको भीड लागेको छ। विशेषगरी काठमाडौं उपत्यका तथा बाहिरी जिल्लाका शक्तिपीठ र देवी मन्दिरहरूमा भक्तजनहरूको घुइँचो बढेको देखिएको छ।
फूलपाती देखि कोजाग्रत पूर्णिमासम्म चल्ने यो १५ दिने पर्व नेपालीहरूको सबैभन्दा ठूलो चाड बडादशैंका रूपमा मनाइन्छ। यस पर्वमा घर–घरमा पूजाआराधनाको प्रसाद विजयादशमीका दिन टीकासँगै ग्रहण गरिन्छ।




.gif)





