काठमाडौं । कमेडी च्याम्पियनका विजेता हिमेश पन्त र सुनिल खड्काको नयाँ कमेडी टक शो मार्फत दर्शकमाझ आउने भएका छन् । उनीहरुले ‘हल्ला खल्ला विथ हिमेश’ नामक शो ल्याउन लागेका हुन् । लामो समयपछि कमेडीमा पुनरागमन गर्न लागेका हिमेश र सुनिलले यसै कार्यक्रममार्फत दर्शकमाझ नयाँ शैलीको मनोरञ्जन प्रस्तुत दिने बताइएको छ । हिमेश पन्त कमेडी च्याम्पियनको पहिलो सिजनका विजेता हुन्, भने सुनिल खड्का तेस्रो सिजनका विजेता हुन् ।
कार्यक्रममा ‘कमेडी च्याम्पियन सिजन–३’का प्रतिस्पर्धी प्रेम विश्वकर्मा र अमरेन्द्र यादवसहितका कलाकारहरूको प्रस्तुति पनि रहनेछ । प्रेम विश्वकर्माले ‘कमेडी च्याम्पियन सिजन–३’ पूर्वराजा ज्ञानेन्द्र शाह, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायतका व्यक्तिको क्यारेक्टर प्रस्तुत गरेर चर्चा कमाएका थिए ।अमरेन्द्र यादव विभिन्न सार्वजनिक व्यक्तित्वलाई व्यंग्य तथा रोस्टमार्फत प्रस्तुत गर्ने कलाकारका रूपमा परिचित छन् । पछिल्लो समय सूर्य थापामाथिको रोस्ट प्रस्तुतिपछि उनी थप चर्चामा आएका थिए।‘हल्ला खल्ला विथ हिमेश’मा अन्तर्वार्ता र कमेडीलाई एउटै ढाँचामा प्रस्तुत गरिनेछ। एक घण्टा लामो हुने कार्यक्रम सातामा एकपटक प्रसारण गरिनेछ । चलचित्र, संगीत, खेलकुद, व्यवसाय तथा राजनीतिलगायत विभिन्न क्षेत्रका चर्चित व्यक्तित्वलाई अतिथिका रूपमा सहभागी गराउने कार्यक्रम अहिलेलाई २६ वटा एपिसोड प्रसारण हुने कमेडियन खड्काले बताए ।




.gif)



