काठमाडौँ । असोज १०,बागलुङ निसीखोला गाउँपालिका–४ की ६७ वर्षीया जेठी विक करिब २० वर्षदेखि दसैँका लागि आवश्यक खर्च रातोमाटो बेचेर जोहो गर्दै आउनु भएको थियो । तर, पछिल्लो पाँच वर्षयता गाउँमा सिमेन्ट र आयातित रङको प्रयोग बढेसँगै माटोको माग घट्न थालेको छ, जसले विकजस्ता परम्परागत व्यवसाय गर्नेहरूलाई समस्यामा पारेको छ ।
“पहिले एक दशक अघिसम्म दसैँका बेला करिब १०० घरमा माटो पुर्याउने गर्थें, अहिले भने १५ घरमा पनि माग हुँदैन,” विकले भन्नुभयो । सिमेन्टको प्रयोग र इनामेल रङले कमेरो र माटोलाई विस्थापित गरिरहेको उहाँको गुनासो छ । “पहिले एक दिनमै सात सय रुपैयाँसम्म कमाई हुन्थ्यो, अहिले पाँच दिन काम गरेर पनि त्यो हुँदैन,” उहाँले दुःखेसो पोख्नुभयो ।
यस्तै, स्थानीय कलीकुमारी सुनारले पहिले माटो निकाल्ने ठाउँहरू अहिले झाडीले ढाकिएको र माटो ल्याउने परम्परा हराउँदै गएको बताउनुभयो । “गाउँमा अब खरका घर देखिन्न, ढुङ्गाका घर पनि सिमेन्टले ढाकिए । मोटर गाडी पुगेपछि बजारको रङ र सरसामानले परम्परागत माटोलाई विस्थापित गर्यो,” उहाँले भन्नुभयो ।
रातोमाटो र कमेरोमाटोले घर पोत्ने चलन कुनै समय गाउँको मौलिकता मानिन्थ्यो । तर, विकास सँगै परम्परा ओझेलमा पर्दै गएको छ । यस्ता परम्परागत सीप र संस्कृतिको संरक्षणका लागि स्थानीय तह र सरोकारवालाको ध्यान जानु आवश्यक देखिन्छ ।




.gif)





