काठमाडौँ । असोज ४, अर्थमन्त्री रामेश्वर खनालले नेपाल धितोपत्र बोर्ड (सेबोन) लाई सेयर बजारमा लागू गरिएको १५ मिनेटको औसत मूल्य गणना प्रणाली हटाउन निर्देशन दिएका छन्। यो निर्देशन सँगै सेबोनले शनिबारको सञ्चालक समिति बैठकमा करिब ६ महिना अघि लागू गरिएको निर्णय उल्ट्याउने तयारी गरेको छ।
बजार लगातार ओरालो लागिरहेका बेला लगानीकर्ता तथा ब्रोकरहरूले औसत मूल्य गणना विधि हटाउन दवाव दिँदै आएका थिए। जेन–जी आन्दोलन पछिको दिन बजारमा तीन पटक नकारात्मक सर्किट लागेपछि यो माग झनै तीव्र बनेको थियो। त्यही दिन नेप्से १६० अंकले घट्दा केही लगानीकर्ताले सेबोन कार्यालयमै घेराउ समेत गरेका थिए।
करीब ६ महिना अघि धितोपत्र कारोबार सञ्चालन विनियमावलीमा चौथो संशोधन गरी यो प्रावधान लागू गरिएको थियो। यस अनुसार, दिउँसो २ः४५ देखि ३ः०० बजे सम्मको कारोबारको भारित औसत मूल्यलाई अन्तिम मूल्य मानिने व्यवस्था गरिएको थियो। उद्देश्य भनेको कमजोर वित्तीय हैसियत भएका कम्पनीका सेयरहरू अन्त्यतिर कृत्रिम रूपमा बढ्ने प्रवृत्ति नियन्त्रण गर्नु थियो।
तर, लगानीकर्ताहरूले यो व्यवस्था बजारमा पारदर्शिता र गतिशीलतामा नकारात्मक प्रभाव पारिरहेको भन्दै हटाउनु पर्ने माग गर्दै आएका थिए।
अर्थमन्त्रीको निर्देशनपछि नेप्सेका प्रमुख कार्यकारी अधिकृत चुडामणि चापागाईंले सेबोनलाई हालको क्लोजिङ प्राइस प्रणाली हटाउने प्रस्ताव पठाइ सकेका छन्। अब सेबोनको शनिबार बस्ने सञ्चालक समितिको बैठकले अन्तिम निर्णय गर्नेछ।
लगानीकर्ताको दवाव, बजारको अवस्था, र सरकारी चासोका कारण सेयर बजारको क्लोजिङ मूल्य निर्धारण प्रणालीमा फेरबदल हुने सम्भावना प्रबल देखिएको छ।




.gif)





