काठमाडौँ । पाल्पा, तानसेन बिहान सबेरै गाउँबाट डोकोमा तरकारी बोकेर तानसेन बजार आइपुग्ने रमिता विक, सीता कुमाल, राधिका खाँती र जमुना बोहोरा जस्ता महिलाहरूको कथा आत्मनिर्भरता र संघर्षको प्रेरणादायी उदाहरण बनेको छ।
डुम्रेकी रमिता विक बिहान गाउँबाट ताजा तरकारी बोकेर तानसेन झर्छिन्। “छोरालाई खाना खुवाएर डोको बोकेर निस्कन्छु,” नारायणस्थानमा तरकारी बेच्दै गर्दा रमिताले बताइन्, “दिनभर बजार डुलेर तरकारी र फलफूल बेच्छु, यही आम्दानीबाट छोराको पढाइ र घरको खर्च चलाउँछु।”
मदन पोखराकी सीता कुमाल पनि बिहान ६ः०० बजे गाउँबाट निस्किएर ‘तरकारी आयो, तकारी आयो’ भन्दै टोलटोल डुल्छिन्। “दुःख त छ, तर गुजारा गर्न यत्ति गर्नैपर्छ,” सीताको भनाइ छ।
तानसेन नगरपालिका–११ बाँझाकी राधिका खाँतीले त आफ्नै बारी र अन्य कृषकबाट संकलन गरेको तरकारी शीतलपाटी नजिकैको मन्दिर छेउमा बिक्री गर्दै आइरहेकी छन्। सुरुमा श्रीमान माथि निर्भर रहनु परेको राधिकाले अहिले तरकारी व्यापारबाट आत्मनिर्भर बनेकी छन्। “अहिले श्रीमान सँग पैसा माग्नु पर्दैन,” राधिकाले भनिन्, “मासिक लाखौँ आम्दानी हुन्छ, चार जनाको परिवार सजिलै चल्छ।”
उहाँले दैनिक रु २,००० देखि रु ५,००० सम्म आम्दानी हुने बताउनु भयो। श्रीमानले पनि तरकारी संकलनमा साथ दिँदै आउनु भएको छ। “सुरुमा लाज लाग्थ्यो, तर अहिले यो मेरो व्यापार हो भन्ने बुझेकी छु,” राधिकाको भनाइ छ।
राधिकाकै जस्तै संघर्षको कथा छ कुरुङखोलाकी जमुना बोहोराको पनि। डेढ दशक देखि सडक पेटीमा तरकारी बेच्दै आएकी उहाँले दैनिक रु १,००० देखि रु ३,००० सम्म कमाइ गर्दै आउनुभएको छ।
यी महिलाहरू मात्र होइन, तानसेन बजार आसपासका कैयौँ महिला किसान तथा व्यापारीहरू बिहानै देखि बजारमा तरकारी बिक्रीका लागि आउने गरेका छन्। सिजन अनुसारका तरकारी बजारमा ल्याई बेचेर उनीहरूले घर व्यवहार सहजै चलाइरहेका छन्।
बारीमा फलाउने देखि बजारमा बेच्ने सम्मको यो श्रमपूर्ण यात्राले महिलाहरूको आत्मनिर्भरता मात्र देखाएको छैन, उनीहरू समाजको आर्थिक रूपान्तरणका अगुवा पनि बनेका छन्।




.gif)





