images

२०८३ आश्विन १९ गते

images
images
images

चिउरीको तेल पेल्न भ्याइनभ्याइ

चिउरीको तेल पेल्न भ्याइनभ्याइ

images
images
सोमवार, भाद्र २३ २०८२
सोमवार, भाद्र २३ २०८२
  • घोराही उपमहानरपालिका-१३ भिउँडरका स्थानीय कालु विकलाई आजभोलि चिउरीको तेल पेल्न भ्याइनभ्याइ भएको छ। नेपालीहरूको महान् पर्व दसैं-तिहार आउन थालेसँगै उनलाई चिउरी पेल्न भ्याइनभ्याइ भएको हो।दसैँ र तिहारका लागि रोटी पकाउनेदेखि ‘सिजन’ मा चिउरीको तेल बेचेर दुईचार पैसा कमाउन तेल पेल्न थालेको उनी बताउँछन्। उमेरले ५६ वर्ष पुगेका विकले यस वर्षदेखि चिउरी पेल्न आधुनिक कोल समेत निर्माण गरेका छन्। त्यसका कारण आफूसँगै अन्य स्थानीयलाई समेत तेल पेल्न सहज भएको बताए।

    images
    images

    “जङ्गलमा ठूल्ठूला रूख भएका कारण यस वर्ष धेरै चिउरी टिप्न सकेन तैपनि एक सिजनमा एक लाख ५० हजार रूपैयाँ बढी आम्दानी हुन्छ”, उनले भने, “चिउरीले गर्दा जीविकोपार्जनमा ठूलो भूमिका खेलेको छ।”उनले यही तेलबाट दसैँ र तिहारका लागि रोटी पकाउनाका साथै तेल बेच्ने र त्यहाँबाट आएको पैसाले अन्य सामान किनमेल गर्न सहज हुने बताए।उनले अहिले एक धार्नीलाई ८ सय रूपैयाँका दरले बेच्दै आएका छन्। अहिले आधुनिक कोलसमेत निर्माण गरेकाले विभिन्न ठाउँबाट तेल पेल्न आउने भएकाले झन् व्यस्तता बढेको उनको भनाइ छ। परम्परागत कोलमा पेल्दा जनशक्ति र समय धेरै लाग्ने गरेकामा हाल भने धेरै सजिलो भएको उनले बताए।

    विकले अन्यबाट किलोको १० रूपैयाँमा तेल पेलेबापत लिने गरेका छन्। उनले हाल दैनिक छ क्विन्टल चिउरीको तेल पेल्दै आएका छन्। उनले बिजुला कुट्ने मिल समेत आफैंले राखेका छन्। यसको तेल जैविक भएकाले स्वास्थ्यका लागि पनि फाइदाजनक रहेको उनी बताउँछन्।घोराही–१३ तुरुन्तपुरका रामकली घर्तीले पनि चाडपर्वका लागि चिउरीको तेल पेलिसकेकी छन्। “विशेष गरेर दसैंतिहारका लागि १५ धार्नी चिउरीको तेल जोहो गरेको छु, हरेक वर्षको सिजनमा चिउरीको बिजुला टिप्ने र पेल्ने गर्दै आएका छौं, स्वास्थ्यका लागि पनि निकै फाइदाजनक रहेकाले यसैको तेल मन पर्छ”, घर्तीले भनिन्, “त्यसैले चाडपर्वमा रोटी बनाउन मात्रै भए पनि चिउरीको तेल पेलेर राखेका छौं।”

    images
    images

    घरका लागि पुर्‍याएर पनि केही तेल बेच्ने गरेको उनी बताउँछिन्। जङ्गल गएर फल टिप्नुपर्ने, घर ल्याएर कुटेर र कोलमा पेलेर तेल निकाल्दा मेहनत धेरै लाग्ने गरेको उनको भनाइ छ। स्थानीय स्तरमै आधुनिक कोल निर्माण भएसँगै यहाँ मौलाकोट, लापे, धानछरे, बगाले, डुम्बर गाउँ लगायतबाट मानिस तेल पेल्न आउने गरेको उनको भनाइ छ।चिउरीको तेल स्वास्थ्यका लागि फाइदासँगै पकाए रोटी बास्ना आउने भएकाले यहाँका अधिकांश स्थानीयले दसैं तिहारका अवसरमा चिउरीको तेल पेल्ने गरेको घर्ती बताउँछिन्। “अन्य समयमा तोरीको तेलले काम चलाए पनि चाडपर्वमा चिउरीको तेल खाने गर्दछन्”, उनले भनिन्, “जसले गर्दा आजभोलि कहिलेकाहीँ चिउरीको तेल पेल्न समेत पालो कुर्नुपर्छ।”

    अधिकांश स्थानीयले चाडपर्वमा घरका लागि चिउरीको तेल पेल्ने गरे पनि ठूलो परिवार हुने र मेहनत गर्ने परिवारले चिउरीको तेल बेचेर राम्रो आम्दानी गर्ने गरेको उनी बताउँछिन्। घोराही-१३ भिउँडरका डल्ली विकले दसैंतिहारसँगै वर्ष दिनसम्म खान पुग्ने चिउरीको तेल जोहो गर्न थालेको बताइन्। घरमा पुगेपछि बिक्री पनि गर्ने गरेको उनले बताइन्। पहिले परम्परागत कोलबाट तेल पेल्न समस्या भएको र हाल भने सहज भएको उनको भनाइ छ।“चिउरीको तेल उत्पादनका लागि मेहनत गर्नुपर्छ तर मानिसहरू सुविधा खोज्छन्”, उनले भनिन्, “जसले गर्दा घर नजिकै भएको जङ्गलका फलहरू खेर जान्छन्, आजभोलि आफ्नोसँगै साथीहरूको तेल पेल्न बिहान ५ बजेदेखि राति ९ बजेसम्म पनि भ्याउँदैन।”

    अर्का स्थानीय कृष्ण गुरुङले घोराही उपमहानगरपालिकाका पहाडी क्षेत्रका विभिन्न स्थानका स्थानीयले बर्सेनि जङ्गलबाट चिउरीको फल ल्याएर तेल पेल्ने गरेका छन्। उनकाे अनुसार चिउरी चैतको अन्तिमतिर फूल खेल्न थाल्छ।चैतमा फुलेर असारदेखि साउनसम्म चिउरी पाक्ने गर्दछ। त्यसरी पाकेर खसेको फल टिप्ने, सफासँग धुने र सुकाउने गरिन्छ। त्यसपछि तेल पेल्नका लागि तयार गर्न फललाई धुलो बनाउन कुट्ने र नरम बनाउन आगोमा पकाउने गरिन्छ। आगोमा पकाएर नरम बनाएपछि त्यसलाई कोलमा हालेर पेलेर तेल निकाल्ने गरिएको उनको भनाइ छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend