काठमाडौँ । सरकारले चालु आर्थिक वर्षको साउनमा ४३ अर्ब ५९ करोड रुपैयाँ ऋण लिएको छ । सरकारले लिएको यो ऋणसँगै हालसम्म सार्वजनिक ऋण बढेर २४ खर्ब ७२ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ ।
२०८१ को असार मसान्तसम्ममा अर्थात चालु आर्थिक बर्षको सुरुमा कुल सार्वजनिक ऋण २४ खर्ब ३१ अर्ब ३३ करोड रुपैयाँ रहेकोमा चालु आर्थिक बर्षको साउन मसान्तसम्ममा ४१ अर्ब ११ करोड थप वृद्धि भई २४ खर्ब ७२ अर्ब ४४ करोड रुपैयाँ पुगेको हो ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्याङ्क अनुसार कुल गार्हस्थ्य उत्पादनका आधारमा सार्वजनिक ऋण हिस्सा ४३.३४ प्रतिशत छ । असार मसान्तसम्ममा कुल गार्हस्थ्य उत्पादनका आधारमा सार्वजनिक ऋण हिस्सा ४२.६५ प्रतिशत थियो ।
प्रतिव्यक्ति ऋण हिस्सा ८४ हजार ७७२ रुपैयाँ
सार्वजनिक ऋण हिस्सा प्रतिव्यक्ति भाग लगाउँदा ८४ हजार ७७२ रुपैयाँ पुगेको छ । कुल सावर्जजनिक ऋणलाई नेपालको २०७८ सालको आधिकारिक जनसंख्या २ करोड ९१ लाख ६५ हजार ५ सय ७८ मा भाग लगाउँदा त्यति रकम पर्न आउँछ । असार मसान्तसम्म प्रतिव्यक्ति ऋण हिस्सा ८३ हजार ४ सय ३१ रुपैयाँ थियो ।
४३ अर्ब ५९ करोड ऋण प्राप्त
चालु आर्थिक वर्ष ५ खर्ब ४७ अर्ब सार्वजनिक ऋण लिने लक्ष्य राखिएकोमा साउन मसान्तसम्म ४३ अर्ब ५९ करोड रुपैयाँ ऋण प्राप्त भएको सार्वजनिक ऋण व्यवस्थापनको कार्यालयले जनाएको छ ।
यसमा ४० अर्ब आन्तरिक ऋण हो भने ३ अर्ब ५९ करोड रुपैयाँ बाह्य ऋण हो । सरकारले चालु आर्थिक वर्ष आन्तरिक ऋण ३ अर्ब ३० अर्ब र बाह्य ऋण २ खर्ब १७ अर्ब रुपैयाँ उठाउँने लक्ष्य लिएको थियो ।
यो लक्ष्य अनुसार आन्तरिक ऋण साउनमा १२.१२ प्रतिशत उठेको छ भने बाह्य ऋण १.६६ प्रतिशत उठेको छ । यस्तै सरकारले साउनमा २० अर्ब ६० करोड रुपैयाँ आन्तरिक ऋणको साँवा ब्याज तिरेको छ भने बाह्य ऋणको साँवा ब्याज २ अर्ब ५८ करोड रुपैयाँ भुक्तानी गरेको छ ।
कुल ग्राहस्थ उत्पादनको आधारमा सार्वजनिक ऋण ४३.३४ प्रतिशत कायम भएको छ ।असार मसान्तसम्ममा कुल गार्हस्थ्य उत्पादनका आधारमा सार्वजनिक ऋण हिस्सा ४२।६५ प्रतिशत थियो ।
सरकारले तिर्नुपर्ने आन्तरिक ऋण १२ खर्ब ३ अर्ब ९० करोड रुपैयाँ र बाह्य ऋण १२ खर्ब ६८ अर्ब ५४ करोड रुपैयाँ पुगेका कार्यालयले जनाएको छ । जसमा कुल ग्राहस्थ उत्पादनको तुलानामा आन्तरिक ऋण हिस्सा २१.१० प्रतिशत रहेको छ भने वाह्य ऋण दायित्व हिस्सा २२.२४ प्रतिशत रहेको छ ।
गत आर्थिक बर्षको अन्त्यसम्ममा सरकारले तिर्नुपर्ने आन्तरिक ऋण ११ खर्ब ८० अर्ब ९० करोड रूपैयाँ र बाह्य ऋण १२ खर्ब ५३ अर्ब १३ करोड रूपैयाँ पुगेको थियो ।
१९ अर्ब २७ करोड ऋण भुक्तानी,
कार्यालयको तथ्याङ्क अनुसार साउन महिनामा सरकारले १९ अर्ब २७ करोड ५ लाख रुपैयाँ ऋण भुक्तानी गरेको छ । जसमा १७ अर्ब रुपैयाँ आन्तरिक ऋण भुक्तानी गरेको छ भने २ अर्ब २७ करोड ५ लाख रुपैयाँ बाह्य ऋण भुक्तानी गरेको छ ।
यसैगरी खर्च तथा ऋण बढिरहने तर राजस्व संकलन नबढ्ने हो भने आन्तरिक वा बाह्य ऋण लिएर सरकारी कर्मचारीलाई तलब खुवाउनुपर्ने अवस्था आउने देखिएको छ ।




.gif)





