काठमाडांँ । भदौ १८, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा किसानहरूले व्यावसायिक राँगापालन कार्यक्रम सुरु गरेसँगै मासु उत्पादनमा आत्मनिर्भरता तर्फको यात्रा थप प्रभावकारी बन्दै गएको छ।
आर्थिक वर्ष २०८१।८२ मा नगरपालिकाले विनियोजित ४३ लाख रुपैयाँ बजेट मार्फत कृषक समूह तथा व्यक्तिहरूलाई २५ प्रतिशत लागत सहभागितामा उन्नत जातका राँगा वितरण गरेको थियो। नगरपालिकाको पशु शाखा प्रमुख गणेशप्रसाद आचार्यका अनुसार तराईबाट खरिद गरिएका ४०० वटा उन्नत राँगामध्ये वडा नं. ३ बाम्राङमा ८३, वडा नं. ४ खाल्लेमा ५९, वडा नं. ५ लफ्याङमा ५२, वडा नं. ७ दोर्पाचिउरीडाँडामा १५ र वडा नं. १५ विजय खर्कमा ४१ वटा वितरण गरिएको छ।
स्थानीयस्तरमै स्वरोजगार र आत्मनिर्भरताको लक्ष्य
उपप्रमुख विशन राईका अनुसार मासुमा आत्मनिर्भरता हासिल गर्ने र स्थानीयस्तरमै स्वरोजगार सिर्जना गर्ने उद्देश्यले सञ्चालन गरिएको यो कार्यक्रम सफल बन्दै गएको छ। “अघिल्लो वर्ष मात्रै ४०० वटा राँगा वितरण गरेका थियौँ,” उहाँले भन्नुभयो, “एउटा राँगाको मूल्य ६० हजार रुपैयाँसम्म पुगेको छ। चालु आर्थिक वर्षमा कार्यक्रमलाई अझ प्रभावकारी बनाउने योजना छ।”
राँगा तथा भैँसीपालनबाट प्राङ्गारिक मल उत्पादन हुने भएकाले त्यसले तरकारी तथा कृषि उपजमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
कफी उत्पादनमा पनि लगानी, १७ लाख बिरुवा उत्पादन
नगरपालिकाले पशुपालनसँगै कृषिको व्यावसायिक विकासतर्फ पनि ध्यान दिएको छ। वडानं। ६ नेर्पा र वडा नं। १४ बुइपामा स्थापना गरिएको कफी नर्सरीमा हाल १७ लाख कफीका बिरुवा उत्पादन भइरहेका छन्। कृषि शाखा प्रमुख तेजप्रकाश जैसीका अनुसार आफैंले उत्पादन गरेको बिरुवा सस्तो पर्ने भएकाले नर्सरी स्थापना गरिएको हो।
यी नर्सरीहरूमा हाल दैनिक ज्यालादारीमा करिब १०० जना स्थानीय कामदार संलग्न छन्। नगरपालिकाको आकलन अनुसार कफीले फल दिन थालेपछि प्रतिवर्ष करिब १२ अर्ब रुपैयाँको आम्दानी नगरपालिकामा भित्रिनेछ।
व्यावसायिक कृषि र पशुपालनको बाटोमा नगरपालिकाको अग्रसरता
जिल्लाकै ठूलो स्थानीय तह दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले केरा, किबी, कागती, सुन्तला, कफी, चिया र तरकारीको व्यावसायिक खेतीका लागि किसानहरूलाई अनुदान दिँदै आएको छ। पशुपालन र कृषि क्षेत्रमा गरिएका यी दीर्घकालीन लगानीहरूलाई स्थानीयस्तरमै रोजगारी सिर्जना र आर्थिक समृद्धिको आधारका रूपमा हेरिएको छ।




.gif)





