images

२०८३ आश्विन १९ गते

images
images
images
  • कृषि
  • दाँते ओखरबाट मनग्य आम्दानी गर्दै शारदा...

दाँते ओखरबाट मनग्य आम्दानी गर्दै शारदा नगरपालिका बाेहरा

दाँते ओखरबाट मनग्य आम्दानी गर्दै शारदा नगरपालिका बाेहरा

images
images
आइतवार, भाद्र १५ २०८२
आइतवार, भाद्र १५ २०८२
  • शारदा (सल्यान)। शारदा नगरपालिका वडा नम्बर ९ नयाँ बस्तीका कृषक जीवराज बाेहराले लामो समयदेखि व्यावसायिक टिमुर खेती गर्दै आउनुभएको छ । उच्च मूल्यका कृषिजन्य बालीहरुको खेतिप्रति आकर्षित हुनुभएका उहाँले बाँझो जमिनमा करिब १०–१५ वर्षअघि दाँते ओखरका बिरुवा रोप्नुभयो । अहिले तिनै ओखरका बोटले जीवराजको घरपरिवारलाई आम्दानी दिनथालेका छन् । उहाँको पहलले शारदा नगरपालिकाको विभिन्न क्षेत्रलाई ओखर खेतीको नयाँ ठाउँको रूपमा परिचित गराउँदैछ । 

    images
    images

    कृषक जीवराजले करिब १५० बिरुवा रोप्नुभएकोमा अहिले १५ वटा बोटले फल दिन थालेका छन् । एउटा ठूलो बोटबाट मात्र वार्षिक चार हजार दाना ओखर उत्पादन हुनेगरेको उहाँको भनाइ रहेको छ । “उत्पादन भएको दाँते जातको ओखरप्रति दाना १० रुपियाँको दरमा बिक्री भइरहेको छ, एउटा ठूलो बोटबाट चार हजारसम्म दाना फल्ने गर्दछन्” उहाँले भन्नुभयो । हाल केही बोटबाट मात्र उत्पादन भएको र करिब १ लाख रुपियाँसम्म आम्दानी हुने अनुमान उहाँको छ । “बाँकी बोटहरूले पनि उत्पादन दिन थालेपछि आगामी वर्षमा आम्दानी झनै बढ्दै जानेछ” जिवराजले भन्नुभयो । ओखर र टिमुर विक्रीबाट मात्र उहाँले वार्षिक पाँचलाख रुपियाँसम्म आम्दानी गर्दै आउनुभएको छ । नयाँ गाउँक्षेत्र विगत लामो समयदेखि टिमुर उत्पादनका लागि चिनिँदैआएको छ । जीवराजको पनि करिब तीनसय टिमुरका बोटले उत्पादन दिइरहेका छन् । 

    उहाँले भन्नुभयो, “मैले हरेक वर्ष करिब ६ क्विन्टलसम्म टिमुर विक्री गर्ने गरेको छु । टिमुरसँगै ओखर खेतीलाई पनि विस्तार गर्दै लैजाने सोँच बनाएको छु ।” शारदा नगरपालिकाले पनि यस क्षेत्रमा पहाडी काष्ठफल खेतीलाई प्राथमिकता दिँदै नाफा कार्यक्रम सुरु गरेको जनाएको छ । नगरप्रमुख प्रकाश भण्डारीका अनुसार वडा नम्बर ९ मा केही समयपछि हजारौंको सङ्ख्यामा ओखरका बिरुवा वितरण गर्ने योजना छ । यससँगै अन्य वडामा पनि फलफूलका बिरुवा वितरण गरेर कृषिलाई आधुनिक र व्यावसायिक रुपमा अगाडि बढाउने नगरपालिकाको लक्ष्य रहेको उहाँले बताउनुभयो । जिल्लाका अन्य भागहरूमा पनि किसानहरुको आफ्नै पहल तथा सरकारी निकाय र अन्य कार्यक्रमहरुको माध्यमबाट ओखर खेतीलाई विस्तारको प्रयास भइरहेको छ । पारिस्थितिकीय प्रणालीमा आधारित अनुकूलन कार्यक्रम अन्तर्गत दुई वर्ष अघिमात्र बनगाड कुपिण्डे नगरपालिकाको वडा ६ मा ५५ घरधुरीले एक हजार १०० वटा ओखरका बिरुवा रोपेका थिए । बजारमा माग बढ्दै गएकाले किसानहरू नगदे बालीतर्फ हुँदैगएका छन् । 

    images
    images

    डिभिजन वन कार्यालय सल्यानले किसानले ओखरका बिरुवा माग गरेमा उपलब्ध गराउने जनाएको छ । कार्यालयका सूचना अधिकारी ललितजङ्ग खड्काले भन्नुभयो, “ठ्याक्कै ओखर खेतीकै लागि भनेर हाम्रोमा कार्यक्रम आएको छैन । तर जडीबुटी प्रवर्धन तथा कृषि वन प्रवर्धन कार्यक्रम छन् । आवेदन मागेको समयभित्र ओखरका बिरुवा पनि किसानबाट माग भएमा अनुदानमा उपलब्ध गराउँछौँ ।” व्यावसायिक खेतीमा लागेका किसानहरुले युवापुस्तालाई सम्भव भएसम्म आफ्नै देशको भूमिमा पसिना बगाउन र श्रमको सम्मान गर्दै कृषिमा आत्मनिर्भर बन्नुपर्ने सुझाव दिने गरेका छन् । ओखर र टिमुर खेतीबाट सफलता पाइरहेका कृषक जीवराजले विदेश जानुको सट्टा गाउँघरमै बसेर मिहिनेत गर्दा सम्मानजनक जीवनयापन गर्न सकिने बताउनुभयो । 

    कृषकहरुले सही समयमा सही बाली छनोट गर्न सकेमा आम्दानीको नयाँ अवसर सिर्जना गर्न सकिन्छ । यसमा स्थानीय सरकारहरुले विशेष योजनासाथ कृषिविज्ञ तथा कृषि प्राविधिकलाई उपयोग गर्न आवश्यक छ । टिमुर र ओखरजस्ता बाली उच्च मूल्यको उत्पादन भएकाले यसले ग्रामीण क्षेत्रमा बसोबास गर्ने किसानको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउने सम्भावना बलियो छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend