काठमाडौँ, ११ भदौ – सरकारले उखु किसानलाई दिइने प्रोत्साहन तथा अनुदान वापतको रकम निकासा गरेको छ। अर्थ मन्त्रालयले यसका लागि रु ७५ करोड ४९ लाख ३८ हजार २४० निकासा गरेको हो।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार, उक्त रकम जिल्लास्थित कोष तथा लेखा नियन्त्रक कार्यालयमार्फत किसानको बैंक खातामा भुक्तानी हुनेछ।
मन्त्रिपरिषद्को पछिल्लो निर्णयअनुसार उखु किसानलाई प्रतिक्विन्टल रु ३५ को दरले अनुदान दिइने भएको हो। यद्यपि, प्राविधिक कारण देखाउँदै अर्थ मन्त्रालयले रकम निकासा गर्न ढिलाइ गरेको थियो। यसकै कारण किसानहरू राजधानी केन्द्रित आन्दोलनमा उत्रिएका थिए।
यसअघि किसानहरूले प्रतिक्विन्टल रु ७० को दरले प्रोत्साहन रकम पाउँदै आएका थिए। कृषि मन्त्रालयले यसै अनुरूप प्रस्ताव गरे पनि देशको आर्थिक अवस्था र आवश्यकतालाई ध्यानमा राख्दै रकम रु ३५ मा सीमित गरिएको हो।
यसैबीच, काठमाडौंमा जम्मा भएका उखु किसान र कृषि मन्त्रालयबीच सिंहदरवारस्थित मन्त्रालयमा वार्ता सम्पन्न भएको छ। वार्तामा मन्त्रालयका तर्फबाट कृषि विभागका उपमहानिर्देशक ललनकुमार सिंह, उपसचिवहरू लालकुमार श्रेष्ठ र मणिरत्न अर्याल, तथा उद्योग मन्त्रालयका प्रतिनिधिहरू सहभागी थिए।
किसान प्रतिनिधित्व श्यामबाबु राय लगायतले गरेका थिए। यसअघि कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले वार्ताका लागि उपमहानिर्देशक सिंहको संयोजकत्वमा चार सदस्यीय टोली गठन गरेका थिए।




.gif)





