काठमाडौं । नागपञ्चमीको अघिल्लो दिन सोमबार नागको चित्र र गोबर बिक्री गर्दै व्यापारी । नाग पञ्चमीमा नाग देवताको पूजा गर्ने परम्पराअनुसार घरको ढोकामा नागको चित्र टाँसी पूजा गरिन्छ ।
नागदेवतालाई पंचमी तिथिका स्वामीको रुपमा लिइन्छ । आजको दिनमा घरघरमा नागको तस्वीर टाँसेर सोही तस्वीरमा नागको पूजा गर्ने गरिन्छ । साथै नागको वासस्थानको रुपमा विभिन्न दह, ताल, पोखरी, इनार आदिमा पनि पूजा गर्ने गरिन्छ ।गाईको दुध, अक्षता, दुबो आदि राखेर नागको पूजा गरिन्छ ।
आज काठमाडौंको नक्सालस्थित नागपोखरी, चोभारस्थित टौदह, भक्तपुरको सिद्धपोखरीमा विशेष मेला नै लाग्ने गर्दछ । यी स्थानको साथमा देशका विभिन्न नागस्थान र ईनार, दह आदिमा विहानैदेखि नागको पूजा गर्नेको घुइँचो नै लाग्ने गर्दछ ।नागपंचमीमा विशेष गरी अष्टनाग अथवा नागका अष्टकुलको पूजा गरिन्छ । अष्टनाग अन्तर्गत अनन्त, बासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख नाग पर्दछन् ।अष्टनाग चित्र टाँसेको घरमा चट्याङ नपर्ने तथा आगो र सर्पको डरसमेत नहुने धार्मिक विश्वास रहेको छ ।




.gif)





