काठमाडौँ । इचङ्गुनारायण–रानीवन जग्गा एकीकरण आयोजना क्षेत्रको खेलकुद मैदानमा तीनदिने भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। वडा नं १ तथा आसपासका खेलप्रेमी र भलिबलप्रेमी युवाहरूको समूहले आयोजना गर्न लागेको प्रतियोगितामा २० वटा टोली सहभागी हुनेछन्।
इचङ्गुनारायण–रानीवन जग्गा एकीकरण आयोजना उपभोक्ता समितिको समन्वयमा सञ्चालन हुन लागेको प्रतियोगिता भोलि बिहान ९ बजेदेखि सुरु हुनेछ। स्थानीयस्तरमा खेलकुद गतिविधि प्रवर्द्धन गर्ने तथा भलिबल खेलप्रति युवाको आकर्षण बढाउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो।
प्रतियोगिताले स्थानीय खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै खेलकुदमार्फत आपसी सद्भाव, सहकार्य र भाइचाराको भावना विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
आयोजना उपभोक्ता समितिले सम्पूर्ण उपभोक्ता तथा स्थानीयवासीलाई खेलकुद मैदानमा उपस्थित भई प्रतियोगिताको अवलोकन गर्न र सहभागी खेलाडीको मनोबल बढाउन आग्रह गरेको छ।
स्थानीय खेलप्रेमीहरूको सक्रियतामा आयोजना हुन लागेको प्रतियोगिताले क्षेत्रको खेलकुद वातावरणलाई थप उत्साहजनक बनाउने आयोजकको अपेक्षा छ।




.gif)





