काठमाडौंः बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई सहकारीको बचत रकम अपचलन गरेको आरोपमा पुर्पक्षका लागि कारागार चलान गरिएको छ। उनी इमेज बचत तथा ऋण सहकारीका संस्थापक अध्यक्ष हुन्।
१६ महिनादेखि फरार रहेका नेपालीलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले भारतको दिल्लीबाट पक्राउ गरी नेपाल ल्याएको थियो। सोमबार जिल्ला अदालत बागलुङमा पेस गरिएका उनीविरुद्ध थुनछेक बहसपछि जिल्ला न्यायाधीश रमेशकान्त अधिकारीको इजलासले पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो। उनका साथमा पक्राउ परेका ओमप्रसाद दर्जीलाई एक लाख ५० हजार रुपैयाँ धरौटीमा रिहा गरिएको छ ।
नेपालीमाथि कास्कीका ५२४ र बागलुङका १,५४३ बचतकर्ताले उजुरी दिएका छन्। सहकारीका बचतकर्ताको दुई अर्ब रुपैयाँ बचत रकम हिनामिना गरेको आरोपमा उनी २०८० जेठ ५ गते बुर्तिबाङ बजारबाट सपरिवार फरार भएका थिए।
नेपालीले अदालतमा आफू मेलमिलाप गर्न आएको बताएका छन् र सबै बचतकर्ताको रकम फिर्ता गर्ने प्रतिबद्धता जनाएका छन्। उनले आफ्नो र श्रीमतीको नाममा रहेका घरजग्गा बिक्री गरेर तिर्नुपर्ने रकम तिर्न तयार रहेको बताएका छन्।
यस मुद्दामा सहकारीका अन्य पदाधिकारी र कर्मचारी चित्रबहादुर भण्डारी, नरमती बुढा, शक्ति किसान, डोरबहादुर परियार र अनिता बुढामगरलाई पनि पक्राउ गरी पुर्पक्षका लागि थुनामा पठाइएको छ।




.gif)





