काठमाडौँः नेपाल शिक्षक महासंघले शिक्षा ऐन माग राख्दै देशव्यापी शैक्षिक आम हडतालको घोषणा गरेको छ। महासंघले गत माघ २० गतेदेखि सुरु गरेको आन्दोलनलाई थप सशक्त बनाउने उद्देश्यले चैत २५ गते देखि आम हडताल गर्ने निर्णय लिएको हो।
महासंघका महासचिव तुलाबहादुर थापा र अध्यक्ष लक्ष्मीकिशोर सुवेदीद्वारा हस्ताक्षरित विज्ञप्तिमा काठमाडौँमा जारी शैक्षिक सडक आन्दोलनलाई अन्तिम र निर्णायक चरण भनिएको छ। विज्ञप्तिमा उल्लेख छ, ‘गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक–कर्मचारीमैत्री शिक्षा ऐन जारी गराउने सवालमा यो अन्तिम र निर्णायक आन्दोलन हो।’
महासंघले सम्पर्ण शिक्षक तथा विद्यालय कर्मचारीहरूलाई काठमाडौँमा जारी आन्दोलनमा अनिवार्य रूपमा सहभागी हुन आग्रह गरेको छ। साथै, हडताल अवधिभर उत्तरपुस्तिका परीक्षण, नतिजा प्रकाशन, तालिम, सेमिनार, शैक्षिक भ्रमण जस्ता गतिविधिमा सहभागी नहुन पनि निर्देशन दिईएको छ।
महासंघले आन्दोलनप्रति ऐक्यबद्धता जनाउनका लागि विद्यार्थी, अभिभावक, विश्वविद्यालय, शिक्षा क्षेत्रमा क्रियाशील संघसंस्थाहरू र अन्य सरोकारवाला पक्षसँग अपिल पनि गरेको छ।
नेपाल शिक्षक महासंघको आन्दोलनले देशभरको शैक्षिक प्रणाली प्रभावित हुने देखिएको छ। सरकारले यसबारे हालसम्म कुनै औपचारिक प्रतिक्रिया केहि दिएको छैन।




.gif)





