images

२०८३ आश्विन २० गते

images
images
images
  • कृषि
  • बिक्री हुन थाल्यो चुत्रो र गुर्जो,...

बिक्री हुन थाल्यो चुत्रो र गुर्जो, किसानलाई संकलन गर्न भ्याइनभ्याइ

बिक्री हुन थाल्यो चुत्रो र गुर्जो, किसानलाई संकलन गर्न भ्याइनभ्याइ

images
images
आइतवार, चैत्र १७ २०८१
आइतवार, चैत्र १७ २०८१
  • पर्वत । महत्व नबुझेर अहिलेसम्म वन जङ्गलमा खेर गइरहेको चुत्रो र गुर्जोले बजार पाउन थालेको छ । चुत्रो र गुर्जो प्रशोधन गरेर औषधि निर्माण गर्ने उद्योग स्थापना भएपछि अहिलेसम्म वन जङ्गलमा खेर गइरहेको चुत्रो र गुर्जो सङ्कलन गर्न किसानलाई भ्याइनभ्याइ भएको हो ।

    images
    images

    कुश्मा नगरपालिका–५ स्थित कालीगण्डकी किनारमा सञ्चालनमा आएको चिनियाँ कम्पनी छिफु बायोटेक्नोलोजी प्रालिले चुत्रोको जरा, डाँठ र गुर्जो प्रशोधन गर्न थालेको हो । रु आठ करोड लगानीमा साढे ४२ रोपनी जमिन भाडामा लिएर कम्पनी सञ्चालन गरिएको छ । यस कम्पनीमा तीन चिनियाँ र ३१ नेपाली कार्यरत छन् ।

    कम्पनीले गुर्जो र चुत्रो सङ्कलन गरेर बिक्री गर्न ल्याउने संकलकलाई चुत्रोका डाँठको प्रतिकिलो रु २५ र जरालाई प्रतिकिलो रु ४० तथा गुर्जोलाई प्रतिकिलोको रु २० दिन थालेको छ । खेतबारी तथा वनजङ्गलमा सदियौँदेखि उपयोगविहीन बनेको चुत्रो र गुर्जो बिक्री हुन थालेपछि अहिले गाउँगाउँका किसानलाई संकलन गर्न भ्याइनभ्याइ छ ।

    images
    images

    कम मेहनत र लगानीमा पर्याप्त आम्दानी गर्न सकिने भएपछि दैनिकजसो जङ्गलमा गएर चुत्रो संकलन गर्नेहरुको संख्या ह्वात्तै बढेको मोदी गाउँपालिका–४ क्याङका टीका पुनले जानकारी दिए । वार्षिक ७३० मेट्रिक टन चुत्रो र गुर्जो संकलन गर्ने लक्ष्य राखेको उद्योगले चार महिनामा २० टनभन्दा बढीको काम हुन नसकेको जनाएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत उद्योग विभागमा दर्ता भएको यो कम्पनीले चुत्रो र गुर्जोलाई प्रशोधन गरी धुलो बनाएर चीन पठाउने गरेको छ ।

    जिल्लाको जलजला गाउँपालिका वडा नं ६ शालिजाका युवा शेरबहादुर पुनले दुई सातामै एक हजार ५०० किलो चुत्रो र गुर्जो बिक्री गरेर रु ५५ हजार आम्दानी गरेको जानकारी दिए। घरभन्दा माथि रहको तारे सामुदायिक वनबाट उक्त मात्रामा सङ्कलन गरिएको हो ।

    यस्तै फलेवास नगरपालिका–७ लिमीठानाका जगन्नाथ शर्माले बिक्री हुन थालेपछि चुत्रो र गुर्जो खोजी गर्न वनजङ्गल जानेहरुको सङ्ख्या बढेको बताए । उनले चुत्रो सहजै संकलन गर्न सकिने भए पनि गुर्जो खोजी गर्न भने समय लाग्ने बताए । शर्माले यसको उपयोगसँगै खेतीसमेत विस्तार गर्नतर्फ ध्यान दिनुपर्ने बताए ।

    औषधिजन्य वनस्पति चुत्रो र गुर्जो सङ्कलन तथा बिक्री भए पनि यसको दीर्घकालीन उपयोग र खेती विस्तारमा ध्यान नदिइएको भन्दै सरोकारवालाले विरोध जनाएका छन् । नागरिकको विरोध बढेपछि डिभिजन वन कार्यालय, जिल्ला प्रशासन कार्यालय र जिल्ला समन्वय समितिको संयुक्त टोलीले उद्योगको स्थलगत अनुगमन गरेको थियो ।वन कार्यालयले अनुगमनपछि कम्पनीले आवश्यक कानुनी प्रक्रिया नपुर्‍याएको भन्दै पत्राचार नै गरी तत्काल संकलन कार्य रोक्न आदेश दिएको भए पनि कम्पनीले अटेर गर्दै धमाधम प्रशोधन गरिहेको स्थानीयले बताएका छन् । डिभिजन वन अधिकृत झ्यामनारायण सापकोटाका अनुसार विदेशी कम्पनीले प्रारम्भिक वातवरणीय परीक्षण नगरिक नै परियोजना सञ्चालन गरिरहेको देखिएको थियो ।

    डिभिजन वन कार्यालयले पत्राचार गरेर यो विषयमा आफ्नो सरोकार देखाएजस्तो गरेको भए पनि व्यक्तिको दर्ता श्रेस्ता कायम भएका नम्बरी आवादीमा रहेका वनबाट जडीबुटी संकलन तथा ओसारपसारका लागि अनुमति दिन परिपत्र जारी गरिरहेको छ । कार्यालयले गण्डकी प्रदेश वन नियमावली विसं २०८१ को अनुसूची १६ मा कायम गुर्जो र चुत्रो संकलन तथा ओसारपसार गर्नलाई अनुमति प्रदान गरिएको सापकोटाले बताए ।

    डिभिजन वन अधिकृत सापकोटाले व्यक्तिगत वनबाट ल्याउने कुरालाई आफूहरूले रोक्न नमिल्ने बताए । कार्यालयका अनुसार पर्वतबाट यही पुसदेखि गुर्जोगानो १० हजार ५०० किलो र चुत्रो तीन हजार किलो मात्र संकलन गरिएको छ । छिफु बायोटेक्नोलोजी प्रालिका व्यवस्थापक हरिकुमार श्रेष्ठले भने प्रारम्भिक वातवरणीय परीक्षण प्रतिवेदन स्वीकृत नभइसकेको तर अन्तिम प्रक्रियामा रहेको बताए । उद्योग परीक्षणकै क्रममा किसानले ठूलो परिमाणमा चुत्रो र गुर्जो संकलन गरेर ल्याएपछि वन कार्यालयले रोकेको दाबी गरे ।

    पैयुँ गाउँपालिकाले गत फागुन २७ मा चुत्रो र गुर्जोगानो संकलन कार्य रोक्न सूचना नै जारी गरेको थियो । प्रमुख प्रशासकीय अधिकृत जीवन गैरेले गाउँपालिकाले अहिले पूर्ण रूपमा संकलन कार्यमा रोक लगाएको बताए । डिभिजन वन कार्यालयले गैरकाष्ठ वन पैदावारअन्तर्गत पर्ने चुत्रो र गुर्जो पहाडी भेगमा सबैजसो ठाउँमा पाइने जनाएको छ । कम्पनीले पर्वत, म्याग्दी, बागलुङ, कास्की, लमजुङ, अर्घाखाँची, गुल्मी स्याङ्जालगायत जिल्लालाई केन्द्रित गरेर प्रशोधन उद्योग सञ्चालन गरेको बताएको छ । रासस

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend