काठमाडौँ। हरर फिल्म फेस्टिभलको दोस्रो संस्करण कात्तिक १३ देखि १५ (अक्टोबर ३० देखि नोभेम्बर १)सम्म काठमाडौँमा आयोजना हुने भएको छ। रसियन हाउसमा आयोजना हुने फेस्टिभलका २६ फिल्म छनोट भएका छन् । जसमा ८ वटा फिचर र १८ वटा छोटा फिल्म रहेका छन्। छनाेट भएका फिल्म २१ देशका रहेका छन्।फेस्टिभलका लागि आयोजकले अन्तर्राष्ट्रिय रूपमा आह्वान गरेर हरर, थ्रिलर, सुपरनेचुरल, डार्क फ्यान्टसी र लोककथामा आधारित फिल्म मागेको थियो। छनोटमा नेपालमा निर्माण तथा सह–निर्माण गरी ५ फिल्म छन् ।
फिचरतर्फ बेलायतको अबान्डन्ड, सर्बियाको फ्रस्ट, अमेरिकाको किल मी, लेबनान, फ्रान्स, कतार र साउदी अरेबियाको सहकार्यमा बनेको इन दिस डार्कनेस आइ सी यू, क्यानडाको द र्याथ, फ्रान्स र अमेरिकाको सहकार्यमा बनेको द वन्स हु ग्रिभ, इरानको पोल्ट्री फार्म र अस्ट्रेलिया–नेपालको सहकार्यमा बनेको मोक्ष छनोट भएका छन् । छोटो फिल्मतर्फ नेपालका नार, सिनर, लाखे र एलिस रहेका छन्।छनोट भएका अन्य फिल्ममा अमेरिकाको ओबे, इटाली–स्लोभेनियाको कस्मोनट्स, बेल्जियमको द लिडर विल कम, स्पेनका ह्याप्पी, सिन्कोपाट र सेप्टेनो, अर्जेन्टिनाको समथिङ स्केरी, फ्रान्सका मक्र्युरियो र लाइफलाइन, साउथ कोरियाको द ओल्ड म्यान एन्ड द ग्रेभ, जापानको एग, स्विट्जरल्यान्डको भ्यागाबन्ड, ब्राजिलको फाभेला अमारेला तथा मेक्सिकोको डिस्ट्रो छन्।
फेस्टिभल निर्देशक रशिक पाठकका अनुसार हरर विधा अहिले फिल्मको सिर्जनशील विधामध्ये एक बनेको छ। यस विधालाई प्रमोस गर्न कार्यक्रम आयोजना हुँदै थालिएको उनले बताए।सन् २०२५ मा सुरु भएको काठमाडौँ हरर फिल्म फेस्टिभल नेपाल फिल्म एन्ड कल्चल एकेडेमीले आयोजना गर्दै आएको हो। हरर तथा विधागत फिल्ममा केन्द्रित फेस्टिभलले नेपाली फिल्मकर्मीलाई स्थानीय लोककथा, मिथक र परम्परामा आधारित कथा भन्न प्रोत्साहित गर्दै विश्वका विभिन्न देशका विधागत फिल्म नेपाली दर्शकमाझ ल्याउने उद्देश्य राखेको छ।




.gif)





