images

२०८३ आश्विन १८ गते

images
images
images
  • शिक्षा
  • नमूना विद्यालयमा करोडौं लगानी, गुणस्तर भने...

नमूना विद्यालयमा करोडौं लगानी, गुणस्तर भने खस्कँदो

नमूना विद्यालयमा करोडौं लगानी, गुणस्तर भने खस्कँदो

images
images
सोमवार, चैत्र ४ २०८१
सोमवार, चैत्र ४ २०८१
  • गोरखाः जिल्लाका विभिन्न पाँच विद्यालयलाई शिक्षा मानव तथा स्रोत विकास केन्द्रले नमूना विद्यालय घोषणा गरी वर्सेनी करोडौँ अनुदान उपलब्ध गराए पनि शैक्षिक गुणस्तर खस्कँदो छ ।

    images
    images

    दुल्लभ मावि घ्याम्पेसाल, महेन्द्र मावि कुन्दुर, सूर्यज्योति मावि ताकुकोट, परोपकार आदर्श मावि जौवारी र अमरज्योति मावि लुइँटेल नमूना विद्यालय घोषित  भइ करोडौँ अनुदान प्राप्त गरेपनि विगत पाँच वर्षको शैक्षिक प्रगति विवरण सन्तोषजनक नदेखिएको हो ।  

    गोरखा नगरपालिकास्थित महेन्द्र माविका प्राचार्य गोपालबाबु मरहट्टाले भने, ‘यो वर्ष १० लाख परेको छ, कार्यक्रम आएको सुरुको वर्ष ५० लाख आएको थियो ।’  प्राप्त बजेट शैक्षिक गुणस्तर निर्माणका लागि खर्च गरेको उनले बताए ।

    images
    images

    उनका अनुसार १२–१२ कोठाको दुई वटा विद्यालय भवन, एउटा छात्रावास, व्यवस्थित शौचालय निर्माण सँगै कम्प्युटर, अन्य जिन्सी सामग्री खरिद गरिएको छ । विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न विविध कार्यक्रम सञ्चालन गरिएको उनले बताए ।

    यो विद्यालयमा हाल पाँच सय ६४ जना विद्यार्थी अध्ययनरत छन् । सो विद्यालय नमूना घोषणा भएको वर्ष २०७४ को एसइईमा औसत २ दशमलव ४० जिपिए थियो । २०७५ सालमाा २ दशमलव ४८, २०७६ मा २ दशमलव ५९, २०७७ मा २ दशमलव ७४, २०७८ मा २ दशमलव २७ र वर्ष २०७९ मा २ दशमलव २१ मात्र जिपिए ल्याएको छ । गएको वर्ष २०८० को एसइई नतिजा घटेर १ दशमलव ७२ जिपिए छ ।

    भीमसेन थापा गाउँपालिका–१ घ्याम्पेसालस्थित दुल्लभ माविमा नमूना विद्यालय कार्यक्रम सञ्चालन भए सँगै भौतिक निर्माणले गति लिएको छ । हाल तीन सय २४ जना विद्यार्थी रहेको सो विद्यालयमा दुई वटा ६–६ कोठे भवन निर्माण गर्नुका साथै विद्यालय बस समेत सञ्चालन गरिएको प्रअ लक्ष्मणबाबु आचार्यले बताए । 

    नमूना विद्यालय कार्यक्रम अन्तर्गत प्राप्त वार्षिक एक करोड भौतिक पूर्वाधारमा र बाँकी ५० लाख व्यवस्थापनमा खर्च गरेको उनले जानकारी दिए । विद्यालयको गतवर्षको एसइई नतिजा औसत ७५ दशमलव ८६ प्रतिशत छ । 

    तीन सय १५ जना विद्यार्थी पढ्ने बारपाक सुलिकोटको सूर्यज्योति मावि ताकुकोटले कार्यक्रमअन्तर्गत सुरुको पाँच वर्ष डेढ–डेढ करोड र गतवर्ष ३० लाख प्राप्त गरेको छ ।  अनुदान वापत प्राप्त चार करोड विद्यालय भवन निर्माणमा खर्च गरेको विद्यालयले जनाएको छ । ९७ लाख बराबरको चमेना गृह, २१ लाख लागतमा विद्यालयको मञ्च र करिब  १० लाखमा आइसिटी ल्याब निर्माण गरेको प्रअ प्राचार्य बाबुराम नेपालीले बताए ।  

    बजेट करोडौँ खर्च गरेपनि एसइईको नतिजा खासै राम्रो देखिएको छैन । सुरुको वर्ष २०७५ मा विद्यालयले २ दशमलव २५ जिपिए प्राप्त गरेको थियो । २०७६ मा २ दशमलव ८४, २०७७ मा ३ दशमलव १४, २०७८ मा २ दशमलव २० र २०७९ मा २ दशमलव ६५ जिपिए प्राप्त गर्‍यो भने गत वर्ष जम्मा ० दशमलव ५६ जिपिए प्राप्त गरेको छ । 

    ३६५ जना विद्यार्थी पढ्ने अर्को नमुना विद्यालय सिरानचोक–८ जौवारीस्थित परोपकार आदर्श माविको गत वर्षको एसईई नतिजा ६४ दशमलव २८ प्रतिशत छ । यस्तै, विद्यालयले २०७९ मा २ दशमलव ५५, २०७८ मा २ दशमलव ५३, २०७७ मा २ दशमलव ८५, २०७६ मा २ दशमलव ८५ र २०७५ मा २ दशमलव ८७ जिपिए ल्याएको थियो । 

    जिल्लामा सबैभन्दा पछि नमूना विद्यालय घोषणा भएको पालुङटार नगरपालिकास्थित अमरज्योति जनता माविमा गतवर्ष एसइई परीक्षामा नौ जना अनुत्तिर्ण भएको विद्यालयले जनाएको छ । त्यस अघिका वर्षहरुमा ग्रेडिङ प्रणाली लागू भएकाले केही विद्यार्थी फेल नभएको विद्यालयका प्रअ माधव देवकोटाले बताए । छ सय ३० जना विद्यार्थीहरु अध्ययनरत उक्त विद्यालयमा हाल नमूना विद्यालय कार्यक्रमको चौथो वर्ष सञ्चालन भइरहेको छ ।रासस  

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend