काठमाडौँ । फ्राइडे रिलिज अन्तर्गत आज शुक्रवारदेखि नयाँ नेपाली फिल्म ‘होस्टेल-३’ प्रदर्शनमा आएको छ । गायक तथा संगीतकारको हुँदै म्युजिक भिडियो निर्देशकको रुपमा स्थापित भएका सशान कँडेलको डेब्यू निर्देशन रहेको यो फिल्मले आज सोलो रिलिजको मौका पाएको छ ।
सोलो रिलिज पाएकै कारण यो फिल्मले देशका अधिकांश सिनेमा हलहरुमा राम्रो शा पनि पाएको छ । ‘होस्टेल’ शृंखलाका अघिल्ला दुई संस्करणको व्यवसायिक सफलतापछि तेस्रो भाग तयार पारिएको हो । यो फिल्मले पनि व्यवसायिक रुपमा सफलता प्राप्त गर्ने प्रवल सम्भावना छ । यो फिल्म युवा पुस्तालाई लक्षित गरेर बनाइएको छ ।
यो फिल्मको ट्रेलर सार्वजनिक भएसँगै यसको चर्चा बढेको थियो । यो फिल्ममा पारस बम ठकुरी, सिम्रन पन्त, आशिष घिमिरे, पदम तामाङ, हेना नगरकोटी, रिहान गिरी, समा पराजुली लगायतका कलाकारको अभिनय छ ।
यो फिल्ममा अभिनेता प्रवीण खतिवडा वार्डेनको भूमिकामा छन् भने आशिष पुरुष, रोहन श्रेष्ठ, उमर खान र सन्तोष बानियाँले पनि यो फिल्ममा अभिनय गरेका छन् । यो फिल्मको कथा माधव शर्माले लेखेका हुन् भने उनी यो फिल्ममा एसोसिएट निर्देशकको रुपमा पनि आवद्ध छन् । यो फिल्मका निर्माता सुरेश कँडेल, कर्ण कार्की, गोविन्द अधिकारी हुन् भने कार्यकारी निर्मातामा शंकर कोइराला हुन् । लाइन प्रोड्युसर कोसिस राज क्षेत्री रहेका छन् ।
यो फिल्मको छायांकन निर्देशन अर्जुन तिवारीले गरेका हुन हो भने सम्पादन विकास दाहालको छ । हिमाल केसीको एक्सन निर्देशन रहको यो फिल्ममा अर्जुन पोखरेल, अल्मोडा राणा उप्रेती, महेश ज्ञवाली र किरण माइकलको संगीत छ ।यो फिल्ममा यम ओलीको प्रोडक्सन डिजाइन रहेको छ भने नृत्य निर्देशन प्रवीण सिंह र रोशन विश्वकर्माले गरेका हुन् । यो फिल्मको वितरण काठमाडौं उपत्यकामा काफिया फिल्म्स(गोविन्द शाही)र उपत्यकाबाहिर आरआर फिल्म्स (रोहित कट्टेल, रत्न श्रेष्ठ) ले गरेका छन् ।
यो फिल्मलाई नेपालकै सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सले आउटलेटमा २९ शो दिएको छ भने दोस्रो ठूलो चेन आइएनआई सिनेमाजमा १५ शो , वान सिनेमाजमा नौ शो पाएको छ । बिग मुभिजमा पाँच शो, एफक्युब सिनेमामा पाँच शो, बिएसआर सिनेमाजमा चार शो पाएको छ ।




.gif)





