काठमाडौं । तनहुँको बन्दीपुर गाउँपालिका–१ का दामोदर ढकालले विसं २०६४ देखि व्यावसायिक तरकारीखेती गर्दै आएका छन् । हाल ५० रोपनी जमिनमा खेती गरिरहेका उनले वार्षिक १५ लाख रुपैयाँसम्म आम्दानी हुने गरेको बताए ।
बाइस वर्षअघि कास्कीबाट तनहुँ बसाइँसराइ गर्दा ढकालले अरूको मेलापात गरेर जीविकोपार्जन गर्नुपर्ने अवस्था थियो । केही वर्ष गाउँमै मेलापात गरेपछि उनी कामका लागि भारत गए । त्यहाँ १० वर्षजति बिताएपछि फेरि आफ्नै गाउँ फर्किए । त्यसपछि कहिल्यै गाउँ छोड्न मन लागेन । अनि सुरु भयो, गाउँमै तरकारीखेती । निरन्तर प्रयास गरे के हुँदैन १ त्यसैको उदाहरण बनेका छन् ढकाल । सुरुमा दुई–तीन रोपनीमा खेती गरेका उनले हाल ५० रोपनीमा विस्तार गरेका छन् ।
'पहिले पहिले अरूको मेलापर्म गरेर जीविकोपार्जन गरिन्थ्यो । कामका लागि भारत पनि गइयो तर त्यहाँबाट फर्केपछि भने आफ्नै देशमा केही गर्नुपर्छ भनेर खेती सुरु गरेँ । राम्रै भयो, यदि काम गर्ने इच्छा शक्ति छ भने देशमै धेरै अवसर रहेछन् भन्ने कुरा धेरैपछि थाहा पाए तर त्यसपछि पछाडि फर्केर हेर्नुपरेको छैन । मेहनत गरेर विगतमा बाँझो रहेको जग्गाबाटै हाल लाखौँ कमाई गरिरहेको छु,' ढकालले भने ।
उनले बाह्रैमास तरकारीखेती गर्छन् । टनेलमा बाह्रैमास गोलभेँडा, मौसमअनुसारका तरकारी । केराउ, काउली, फर्सी, करेला, घिरौँला, खुर्सानी र बेमौसमी तरकारीले सधैँ फल्छन् उहाँको बारीमा । पछिल्लो समय तरकारीका साथै बिरुवासमेत उत्पादन गरेर बिक्री गर्ने गरेको ढकालले जानकारी दिए । करिब चार रोपनी जग्गामा मौसमी तथा बेमौसमी जातका तरकारी र फलफूलका बिरुवा उत्पादन गर्ने गरेको उनले बताए ।
तरकारीखेती गरिरहेको सबै जग्गा भने उनको आफ्नै होइन । वार्षिक दुई लाख तिर्ने गरी ५० रोपनी जग्गा भाँडामा लिएका छन् । ढकालले उत्पादनको राम्रो खपत हुन थालेपछि थप १० रोपनी जग्गामा व्यवसाय विस्तारको योजना बनाएका छन् । उनले भने, 'उत्पादन गरेका तरकारी बन्दीपुर, डुम्रे, दमौलीलगायत बजारमा बिक्री गर्दै आएको छु । पोखराबाट समेत व्यापारीहरू तरकारी लिन आउने गरेका छन् । यो सबै गरी वार्षिक ८० लाखसम्म कारोबार हुने गरेको छ । त्यसमा सबै खर्च कटाएर १५ लाख बचत हुने गरेको छ । अब थप व्यवसाय विस्तारको योजना बनाइरहेको छु ।'
विगतमा अर्कोको बनिबुतो गरेर खाने ढकालले यसै व्यवसायबाट परिवारको लालनपालन र छोराछोरीलाई राम्रो शिक्षादीक्षा दिएका छन् । ३० लाख खर्चेर बस्न लायक घर बनाएका छन् । आफ्नै नाममा दुई रोपनी जग्गा जोडेका छन् ।तरकारीको बजारीकरणका लागि जिप, मोटरसाइकल र स्कुटर किनेका छन् । ढकालले बजारको मागअनुसार उत्पादन र त्यसअनुसार व्यवस्थापनको काममा निरन्तर लागिरहेको बताए । 'कृषिकर्म नै हो नेपालको समृद्धिको आधार । हामीसँग भएको यो उर्वरभूमिमा लगनका साथ पसिना चुहाउने हो भने रोजगारीका लागि विदेश नै जानुपर्दैन । त्यसको उदाहरण म आफैँ हो,' उनी भन्छन्, 'यदि म निराश भएको भए आजको यो अवस्था हुन्थे । विदेशै भए पनि आफ्नै देशमा घर, परिवार, समाज र आफन्त, साथीभाइसँग बसेजस्तो आनन्द र सन्तुष्टि हुन्थेन । यो सबैले बुझ्न जुरुरी छ ।'रासस




.gif)





