काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को पाइपलाइनमा हाल होटल र पर्यटन क्षेत्रका ७ कम्पनीहरूको आईपीओ (प्रारम्भिक सार्वजनिक पेशकश) आउने तयारीमा छन् । यी कम्पनीहरूलाई सेबोन (सेक्युरिटी बोर्ड अफ नेपाल) ले आईपीओ जारी गर्नका लागि स्वीकृति दिने प्रक्रिया अन्तिम चरणमा रहेको जनाएको छ ।
ती ७ वटा कम्पनीले विभिन्न मितिमा आइपीओ ल्याउन अनुमति माग्दै सेबोनमा निवेदन दिएका थिए । सेबोनले अनुमति दिएमा ती कम्पनीले ३ अर्ब ३१ करोड १० लाख रुपैयाँबराबरको ३ करोड ५३ लाख ६० हजार कित्ता आइपीओ ल्याउनेछन् । सेबोनको पाइपलाइनमा एपेक्स हस्पिट्यालिटी, होटल फरेस्ट इन, अर्किड होल्डिङ, अन्नपूर्ण केबलकार, बन्दीपुर केबलकार एन्ड टुरिजम, अकामा होटल र ठमेल प्लाजा होटल एन्ड सुइट्सको आइपीओ अनुमति पर्खाइमा छन् ।
एपेक्स हस्पिट्यालिटीले १०० रुपैयाँ अंकित दरका कुल २४ लाख कित्ता आइपीओ ल्याउन अनुमति मागेको छ । यो कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ । यसैगरी होटल फरेस्ट इनले १०० रुपैयाँ अंकित दरका कुल ९८ लाख कित्ता, अर्किड होल्डिङ्सले १ लाख १५ हजार कित्ता, अन्नपूर्ण केबलकारले ३१ लाख कित्ता र बन्दीपुर केबलकारले ३० लाख ६० हजार कित्ता आइपीओ ल्याउन लागेको छन् । आइपीओ बिक्री प्रबन्धकमा होटल फरेस्ट इनको एनआईसी एसिया क्यापिटल, अर्किड होल्डिङ्सको लक्ष्मी सनराइज क्यापिटल, अन्नपूर्ण केबलकारको मुक्तिनाथ क्यापिटल र बन्दीपुर केबलकारको नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेका छन् ।
उता अकामा होटलले ५० रुपैयाँ अंकित दरमा ४५ लाख कित्ता र ठमेल प्लाजा होटलले १०० रुपैयाँ अंकित दरमा १० लाख कित्ता आइपीओ ल्याउन अनुमति मागेका छन् । आइपीओ बिक्री प्रबन्धकमा अकामा होटलको सानिमा क्यापिटल र ठमेल प्लाजा होटलको नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेका छन् ।




.gif)





