काठमाडाैं । काठमाडौंमा जारी ‘सातौँ नेपाल एग्रीटेक तथा नेपाल फुड एण्ड बेभरेज इन्टरनेशनल एक्स्पो’ आइतबार सम्पन्न हुँदैछ । शुक्रवारदेखि जारी कृषि मेलाले नेपालको कृषि क्षेत्रलाई उपयुक्त हुने नविनतम् प्रविधि तथा सेवाको पहिचान गर्न मद्दत मिल्ने र तीनको प्रयोगद्वारा कृषि उत्पादन वृद्धि भई मुलुकलाई कृषि उपजमा आत्मनिर्भर बन्न टेवा पुग्ने विश्वास गरिएको छ ।
मेलाले कृषिमा प्रविधिको प्रयोगलाई बढावा दिने कृषि व्यवसायीको विश्वास छ । कृषि उपकरणको प्रचार प्रसारका लागि मेलामा स्वदेशी तथा विदेशी कृषि उपकरण कम्पनीहरुले स्टल राखेका छन् । मेलाले नेपालमा भएको कृषिसम्बन्धी सेवा र वस्तुलाई निर्यात गर्न मद्दत पु¥याउने र विदेशबाट गुणस्तरीय कृषि उपकरण आयात गर्ने उनीहरुको विश्वास छ ।
कृषि मेलालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा भएका विजनेसहरुलाई एक,अर्कामा आदानप्रदान गर्ने रुपमा बुझेको मुक्तिनाथ कृषि कम्पनी लिमिटेडका नायव महाप्रवन्धक रामशरण तिमल्सिनाले बताउनुभयो । उहाँले नेपालमा रहेको वस्तु तथा सेवालाई निर्यात गर्न तथा नेपाललाई आवश्यक कृषि उपकरण आयात गर्न सकियोस् भनेर मेलामा जोडिएको बताउनुभयो । कृषि उपकरण व्यवसायीहरुले गरिरहेका कामहरुबारे सरकारी तथा गैरसरकारी संस्थाहरुलाई देखाउने यो उत्तम विकल्प भएको समेत उहाँको भनाइ छ । उहाँले कृषिसम्बन्धी कुनैपनि उपकरण र कृषि व्यवसायको योजना बनाउनका लागि मुक्तिनाथ कृषि उपयुक्त भएको उहाँले बताउनुभयाे ।
उहाँले भन्नुभयो, "एग्रिटेक एक्सपोलाई ‘बि टू बि’का माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा भएका विजनेसहरुलाई एकअर्कामा आदानप्रदान गर्ने रुपमा बुझेका छौं । त्यकारण हामीसँग भएको वस्तु तथा सेवालाई बाहिरका कम्पनीहरुसँग एप्रोच गर्न सकियोस् र हामीलाई चाहिने वस्तु तथा सेवालाई बाहिरका कम्पनीहरुबाट लिन सकियोस् भन्ने पहिलो उद्देश्य रह्यो । दोस्रो, सरकारी गैरसरकारी निकायहरुलाई हामीले के गरिरहेका छौं भन्ने विषयवस्तु देखाउनका लागि पनि यो प्लेटफर्म उपयुक्त हुन्छ भनेर हामी यहाँ उपस्थित भएका छौं । तेस्रो यदि कसैले कृषिसम्बन्धी व्यवसाय गर्न चाहनुभएको छ भने मुक्तिनाथ कृषि कम्पनीछ भनेर प्रदर्शन गर्न आएका छौं । अर्को महत्वपूर्ण कुरा जतिपनि किसान र उपभोक्ताले यदि केही गर्न चाहानुहुन्छ भने त्यसका लागि योजना मुक्तिनाथ कृषि कम्पनीसँग छ भनेर प्रचार गर्नको लागि हामी यहाँ सहभागि भएका छौं ।"
बाँकेको नेपालगञ्जमा कृषि सोलुसन नामक कम्पनी चलाउँदै आउनुभएकी पार्वती घिमिरेले नेपालमा कृषि यन्त्रको उपकरणको प्रयोग बढ्दै गएको बताउनु भयो । उहाँले युवाहरु विदेश पलायन हुँदा गाउँ कृषि प्रयोगका उपकरणहरुको प्रयोग बढेको उहाँको भनाइ छ । उहाँले नेपालमा कृषि उपकरण उत्पादन नहुने भएका कारण विदशकै भर पर्नुपरेको बताउनुभयो । कृषि उपकरणको माग बढेको भएपनि उत्पादन नहुँदा चीन र भारतबाट उपकरण आयात गरेर बेच्ने गरेको उहाँले बताउनुभयो । चीन र भारतबाट आयातित गुणस्तरीय वस्तुको प्रचार प्रसारका लागि मेलामा सहभागि भएको उहाँले उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, "अहिले नेपालमा कृषि उपकरणको एकदमै बढ्दो माग छ । प्रविधि बिना कृषिमा अगाडि बढ्न सकिदैन भन्ने धारणा सबैको भइनै सकेको अवस्था पनि छ ।"
जर्मनी स्टिल कम्पनीका नेपाली वितरक कुमार शाक्यले रुख काट्ने मेसिनको माग बढ्दो भएपनि अन्य उपकरणहरु माग सोचेजति नभएको बताउनुभयो । उहाँले मेलाको माध्यमबाट कृषिलाई गुणस्तरीय कृषि उपकरणको व्यवस्था गरी किसानले भोग्दै आएका समस्याहरु समाधान गर्ने आफ्नो मुख्य उद्देश्य रहेको बताउनुभयो । उहाँले पहिले चिनियाँ कम्पनीसँग सहकार्य गर्दै आएको भएपनि कम गुणस्तरको सामान पठाउने गरेको कारण जर्मनी कम्पनीसँग सहकार्य गरेको बताउनुभयो । एक्सपोमा कुखुरा पालन, माछा पालन, बाख्रा पालन, गाई भैँसी पालन, डेरी, कृषिका मेसिनरी औजार, उपकरण, भेटेरिनरी, खाद्य प्रविधिबारे जानकारी प्राप्त गर्न सकिने आयोजकले जनाएको छ । मुख्य प्रदर्शनी स्थलमा सबै विधाका अलग–अलग समूह स्टल रहने र प्रदर्शनीमा प्रवेश निःशुल्क रहेको छ ।




.gif)





