images

२०८३ आश्विन २१ गते

images
images
images

सडक स्तरोन्नति नहुँदा बाँसखर्कका किसान मर्कामा

सडक स्तरोन्नति नहुँदा बाँसखर्कका किसान मर्कामा

images
images
शुक्रवार, फाल्गुण २ २०८१
शुक्रवार, फाल्गुण २ २०८१
  • म्याग्दी । सडक स्तरोन्नति नहुँदा म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कका किसानलाई सुन्तला ढुवानी गर्न समस्या भएको छ । बाँसखर्क धवलागिरि क्षेत्रमा धेरै सुन्तलाखेती हुने गाउँ हो ।

    images
    images

    म्याग्दीको कालीपुलबाट बगरफाँट हुँदै बाँसखर्क जोड्ने सडक स्तरोन्नति नहुँदा घुमाउरो र कच्ची सडकमा बढी भाडा तिरेर सुन्तला ढुवानी गर्नुपरेको हो । ठूला सवारीसाधन गाउँमा पुग्न नसक्दा सुन्तला ढुवानी गर्न समस्या भएको बाँसखर्कका अगुवा किसान जगतबहादुर खत्रीले बताए ।

    ‘साना खालका बोलेरो जीपमा थोरैथोरै सुन्तला टिपेर बेनीसम्म झार्ने र ट्रकमा राखेर देशका विभिन्न ठाउँमा पठाउँदा झन्झटका साथै श्रम र समय धेरै खर्चनुुपरेको छ’, उनले भने, ‘सडकको समस्याले सुन्तला थिचिने, मिचिने र कुहिएर नष्ट भएर किसानले क्षति व्यहोर्नुपरेको छ ।’

    images
    images

    दश वर्षअघि स्थानीयवासीले चन्दा सङ्कलन गरेर मार्ग खोलेको पाँच किलोमिटर दूरीको बेनी–बगरफाँट–बाँसखर्कबाहेक बाँसखर्क जोड्ने अरू दुईवटा सडक छन् । बेनी–बगरफाँट–बाँसखर्कभन्दा बेनी–मल्लाज–बाँसखर्क सडक पाँच किलोमिटर र मोहनचोक–मल्लाज–बाँसखर्क सडक १० किलोमिटर घुमाउरो छ ।

    मल्लाज क्षेत्रको सडक स्तरोन्नति भए पनि बाँसखर्क प्रवेश गरेपछि साँघुरो, ग्रेड तथा मोड नमिलेको कच्ची सडकमा जोखिम मोलेर यात्रा गर्नुपर्छ । बाँसखर्कका दुई सय घरपरिवारले व्यावसायिक सुन्तलाखेती गरेका छन् । यो वर्षमात्र बाँसखर्कबाट रु १८ करोड ४६ लाख मूल्य बराबरको सुन्तला बिक्री भएको वडाध्यक्ष जगबहादुुर रोकाले बताए ।

    देशका अन्य ठाउँको बगैँचा निख्रिएपछि बाँसखर्कको सुन्तला टिपेर बजार पठाउने गरिन्छ । एक जना किसानले वार्षिक रु पाँच लाखदेखि रु ४५ लाखसम्मको सुन्तला बिक्री गर्छन् । सडक सहज हुने होभने सुन्तलालाई सुरक्षित र सहज रूपमा बजारमा पठाउन सकिने, ढुवानीको खर्च घट्ने, यात्राअवधि एक घण्टाबाट १५ मिनेटमा छोटिने वडाध्यक्ष रोकाले बताए ।

    तत्कालीन राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमार्फत अघिल्लो कार्यकालमा बगरफाँट–बाँसखर्क सडक आयोजना सञ्चालन भए पनि पूर्णता नपाउँदै प्राधिकरण खारेज भएपछि सङ्घीय सरकारको वार्षिक कार्यक्रमबाट आयोजना हटेकाले समस्या भएको जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले बताए ।

    ‘पुनर्निर्माण प्राधिकरण खारेज भएपछि हराएको योजना खोज्दै सडक विभागदेखि डोलिडार र प्रदेश सरकारसम्म धायौ, कतै पनि कागजात भेटिएन’, उनले भने, ‘नयाँ प्रक्रियाबाट सडक स्तरोन्नति गर्न सङ्घीय र प्रदेश सरकारसँग पहल गरेका छौँ ।’ पुरानो योजनामार्फत एक सय ५० मिटर सडक ढलान र केही ठाउँमा पर्खाल तथा नालीमात्र निर्माण भएको छ ।

    सडकको समस्या देखाउनकै लागि गत माघ ११ गते गाउँपालिका र वडा कार्यालयले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री पद्मा अर्याल जिसी, उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्याल, राष्ट्रियसभा सदस्य मनरूपा शर्मा र प्रदेशसभा सदस्य भक्त कुँवरलाई बोलाएर बाँसखर्कमा सुन्तला महोत्सव गरेर ध्यानाकर्षण गराएका थिए ।

    उक्त कार्यक्रममा आउनुभएका मुख्यमन्त्री पाण्डे, मन्त्री र सांसदहरूले बाँसखर्क जोड्ने सडकलाई स्तरोन्नति गरेर सहज रूपमा सुन्तलालगायत कृषि उपज ढुवानीको व्यवस्था मिलाउने प्रतिबद्धता जनाएका थिए । प्रदेश सरकारले चालु आवमा बगरफाँट–बाँसखर्क सडकका लागि रु ३० लाख बजेट विनियोजन गरेको छ । सङ्घीय सरकारको बेनी–जोमसोम–कोरला सडक योजनामार्फत गत वर्ष बेनी नगरपालिका–८ कालीपुल र जलजला गाउँपालिकाको बगरफाँटको सिमाना भएर बग्ने कालीगण्डकी नदीमा ४५ मिटर लामो बेलिब्रिज जडान भएको थियो । रासस

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend