राजविराज ।पछिल्लो ६ महिनायता तलब–भत्ता नपाएको भन्दै उपप्राध्यापक र कर्मचारीहरुले मधेश कृषि विश्वविद्यालयमा ताला लगाएका छन् । राजविराजमा रहेको विश्वविद्यालयको प्रशासनिक भवनमा उपकुलपति डा. वैधनाथ महतोलाई बाहिर निकालेर बिहीबार बिहान तालाबन्दी गरेका हुन् । उपकुलपति, रजिष्ट्रार, प्रशासन शाखा, प्रशासनिक भवनको मुलगेट तथा शैक्षिक भवनमा तालाबन्दी गरिएको हो ।
विश्वविद्यालयमा कार्यरत उपप्राध्यापक तथा कर्मचारीहरुले क्षतिपूर्तिसहित नियमावली अनुसारको तलबभत्ता तथा अन्य सुविधा पाउनुपर्ने माग राखेका छन् । उनीहरुले चालु आर्थिक वर्षको भदौदेखि हालसम्मको तलब–भत्ता नपाएको बताएका छन् । विश्वविद्यालयका सह–कुलपति एवं प्रदेशका शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारीलाई पटक–पटक ज्ञापनपत्र दिँदा पनि कुनै सुनुवाइ नभएकोले चरम आर्थिक संकटका कारण आफूहरु तालबन्दीमा उत्रिनुपरेको उपप्राध्यापक अविनाशकुमार यादवले बताए ।
विश्वविद्यालयको सभाबाट नीति तथा कार्यक्रम पास हुन नसकेको, लालबाबु राउत नेतृत्वको सरकारले नियुक्त गरेका रजिष्ट्रारबाट वर्तमान सरकारले आर्थिक कारोबार खोजेर छानबिन थालेपछि पछिल्लो समय विश्वविद्यालयको आर्थिक कारोबार बन्द छ ।जनता समाजवादी पार्टी नेपाल र जनमत पार्टीबीचको द्वन्द्वका कारण विश्वविद्यालय पछिल्लो समय समस्यामा परेको हो। प्रदेश सरकारले २०७८ साल मंसिर २७ गते सप्तरीको राजविराजमा मधेश कृषि बिश्वविद्यालयको स्थापना गरेको थियो। कृषि, पशु, माछा र खाद्य प्रविधि विज्ञान गरी चारवटा संकायमा पढाई गर्नेगरी स्थापना भएको विश्वविद्यालयको भवन निर्माणका लागि राजविराज नगरपालिकाले वडा नम्बर १२ मा २६ बिघा ८ कठा जग्गा दिएको थियो ।




.gif)





