images

२०८३ आश्विन २१ गते

images
images
images

बाँकेमा ९५ हेक्टरमा हिउँदे मकै खेती

बाँकेमा ९५ हेक्टरमा हिउँदे मकै खेती

images
images
आइतवार, माघ २७ २०८१
आइतवार, माघ २७ २०८१
  • नेपालगन्ज । बाँकेका किसानहरू पछिल्लो समय हिउँदे मकै खेतीतर्फ आकर्षित हुन थालेको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ । कृषि ज्ञान केन्द्र बाँकेका सूचना अधिकारी अनिश श्रेष्ठका अनुसार यस वर्ष बाँकेमा ९५ हेक्टर क्षेत्रफलमा हिउँदे मकै खेती गरिएको छ, जुन अघिल्लो वर्षको तुलनामा २३ हेक्टरले बढी हो । 

    images
    images

    सूचना अधिकारी श्रेष्ठका अनुसार गत वर्ष ७२ हेक्टरमा मात्र हिउँदे मकै खेती गरिएको थियो, जसबाट २३७ मेट्रिक टन उत्पादन भएको थियो । उहाँले गत वर्ष मकै उत्पादन प्रतिहेक्टर ३ दशमलव २९ मेट्रिक टन रहेको जनाउँदै यस वर्ष भने क्रप कटिङ नभएकोले उत्पादनको यकिन तथ्यांक निकाल्न नसकिएको बताउनुभयो । 

    हिउँदे मकै खेतीलाई अझ प्रविधिमैत्री बनाएमा किसानहरूको आम्दानी थप वृद्धि गर्न सकिने जनाउँदै कृषि ज्ञान केन्द्र बाँकेले किसानहरूले उचित समयमा सिँचाइ, मलखाद व्यवस्थापन तथा कीट नियन्त्रण गरेमा उत्पादन अझ राम्रो हुने जनाएको छ । उता हरियो मकैको माग बढ्दै गएको, उचित मूल्य प्राप्त भइरहेको तथा यसबाट राम्रो आम्दानी हुन थालेको देखेर बाँकेका किसानहरू व्यावसायिक रूपमा मकै खेतीतर्फ आकर्षित हुन थालेको देखिएको छ । 

    images
    images

    जिल्लामा सबैभन्दा बढी राप्तीसोनारी गाउँपालिका, नेपालगन्ज उपमहानगर-२३, र डुडुवा गाउँपालिका तथा बैजनाथ गाउँपालिकामा हिउँदे मकै खेती भइरहेको कृषि ज्ञान केन्द्रले जनाएको छ । कृषि ज्ञान केन्द्रका सूचना अधिकारी श्रेष्ठका अनुसार विशेषगरी डुडुवा गाउँपालिका–६ हिरमिनिया, भंघोटना, कालाबञ्जर, पहाडियन पुरवा, बकौली, अहिरापुर, महन्तरपुरवा, बल्दीपुरवा लगायतका गाउँहरूमा किसानहरूले व्यापक रूपमा हिउँदे मकै खेती गरिरहेका छन् ।

    नेपालगन्ज उपमहानगरपालिका–२३ भज्जुपुरवाका कृषक जयपाल मौर्यका अनुसार हरियो मकैको बजार मूल्य राम्रो पाईएको र सहजै बिक्री हुने भएकाले बाँकेका किसानहरू व्यावसायिक रूपमा हिउँदे मकै खेतीतर्फ आकर्षित हुँदै गएका छन् । स्थानीय अर्का कृषक रामबहादुर यादवका अनुसार, बाँकेमा हिउँदे मकै लगाउनेहरु बढ्दै गएका छन् । यादवले थप्नुभयो, ‘हिउँदे मकै राम्ररी उत्पादन गर्न सके, बजारमा हरियो मकैको राम्रो मूल्य पाइन्छ। फागुन–चैतमा बिक्री गर्दा हामीले प्रतिकिलो राम्रो मूल्य पाउने गरेकोले किसानहरूलाई हौँसाएको छ ।’ 

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend