images

२०८३ आश्विन २१ गते

images
images
images

डेढ करोड लगानीमा व्यावसायिक फलफूलखेती

डेढ करोड लगानीमा व्यावसायिक फलफूलखेती

images
images
आइतवार, माघ २७ २०८१
आइतवार, माघ २७ २०८१
  • ढोरपाटन (बागलुङ) । जिल्लाको ढोरपाटन नगरपालिका–५ पाखापानी भौगोलिक रूपमा विकट मानिन्छ । विकटताका कारण पर्याप्त सेवासुविधा गाउँमा पुग्न सकेको छैन । युवापुस्ता विदेश पालयन भएका छन् भने अधिकांश गाउँमा बस्ने सुविधाको खोजीमा बजार झरिरहेका छन् ।

    images
    images

    गाउँलेको रोजाइमा बजार परिरहेको अवस्थामा यहाँका मानसिङ पुनले भने अवसर खोज्दै डेढ करोड लगानीमा व्यावसायिक फलफूलखेती सुरु गरेका छन् । उनी पेसाले स्वास्थ्यकर्मी हुन् । दिउँसोको समय नागरिकको उपचारमा खटिने उनी फुर्सदको समय बारीमा काम गर्छन् ।

    “सँगैका साथी कोही जापान र कोरिया, कोही खाडी मुलुक भएका छन् । युवापुस्ता नहुँदा सुनसान बन्दै गएको गाउँमा विसं २०७३ देखि व्यावसायिक कृषि कर्म गर्दै आएको छु”, पुनले भने । ‘स्वरोजगार बहुउद्देश्यीय कृषि पशुफार्म’ सञ्चालन गरी सम्भावना खोज्दै आएका छन् ।

    images
    images

    आठ वर्ष अघि सुरु गरेको व्यवसाय अहिले विस्तार हुँदै गएको उनको भनाइ छ । पुनले गाउँको बाँझो जमिनलाई सदुपयोग गरी व्यावसायिक रूपमा किबी, केरा, सुन्तला, कागती र टिमुरखेती गर्दै आएको बताए । साथै ५० बढी बाख्रा पालन गरेको बताउँदै उनले बारीमा पुग्दा लटरम्म फलेका फलफूलले धेरैलाई आकर्षित गर्ने प्रतिक्रिया आउने गरेको बताए ।

    “एक सय ८० रोपनी क्षेत्रफलमा लगाएको फलफूलमध्ये केहीले उत्पादन दिन थालेका छन्, केही हुर्किँदै छन् । केही वर्ष अघि वनमाराले ढाकेको बारीमा अहिले फलफूल उत्पादन हुँदा गाउँले नै दङ्ग छन्”, पुनले भने । गाउँमा स्वरोजगार बनेर जनताको सेवा गर्ने सोच बनाएका उनी पाँच वर्षदेखि ढोरपाटन–८ स्थित सेराबाङ आधारभूत स्वास्थ्य सेवा केन्द्रमा प्रमुखका रूपमा कार्यरत छन् ।

    फुर्सदको समयमा बारीमा काम गर्ने उनले कृषि फार्ममा हालसम्म डेढ करोड बढी लगानी गरेको जानकारी दिए । उनलाई विदेशबाट फर्किएका दाई हिमालकुमार पुन र भिनाजु विक्रिम घर्तीमगरले साथ दिइरहेका छन् ।सुरुमा १५ लाखबाट सुरु गरेको व्यवसाय अहिले राम्रो हुँदै गएपछि बर्सेनि आम्दानी पनि बढ्दै गएको पुनले बताए । यसवर्ष फलफूल तथा बाख्रा बिक्री गरेर सात लाख आम्दानी भएको जनाउँदै उनले वार्षिक ५० लाख आम्दानी गर्ने लक्ष्य राखेको उल्लेख गरे ।

    “अहिले सुरुवाती चरणमा छौँ, आम्दानी जति लगानी भइरहेको छ, बाख्रापालनबाट सुरु गरेको व्यवसाय अहिले फलफूल खेतीलाई जोड दिएका छौँ । म जनताको उपचारमा व्यस्त भइराख्ने हुँदा दाइ र भिनाजु विदेशबाट फर्किएर यहाँ काम गर्न थाल्नुभएको छ, उहाँहरूले थप हौसला दिँदा लगानी बढाइरहेको छु”, पुनले भने, “लगानी अनुसारको प्रतिफल आउला भन्ने अपेक्षासहित गाउँमा केही गरौँ भन्ने उद्देश्यले कृषि कर्ममा लागेको हुँ ।”

    पुनले केही वर्ष अघि ६० लाखको जग्गा किनेर फलफूखेती विस्तार गरेको जानकारी दिए । हालसम्म कृषि ज्ञान केन्द्र बागलुङबाट एक लाख १३ हजार, ढोरपाटन नगरपालिकाबाट एक लाख ८८ हजार अनुदान प्राप्त भएको बताउँदै उनले स्वदेशमा केही गर्न चाहाने युवालाई राज्यले पनि सोही अनुसारको सहयोग गर्नुपर्नेमा जोड दिए । गाउँमा खानेपानी र सिँचाइ अभाव हुँदा गाउँले बसाइँसराइ गर्न बाध्य भएका उनको भनाइ छ ।

    आफूले ठूलो लगानी गरेर फलफूल खेती गरे पनि सिँचाइ अभावमा बिरुवा सुक्दा लाखौँको नोक्सानीसमेत व्यहोर्नु परेको पुनले गुनासो पोखे । गाउँ नजिक पानीको मुहान नभएकाले टाढाबाट ल्याउनका लागि लाखौँ रुकम आवश्यक पर्ने उनले उल्लेख गरे । पुनले विदेश पलायन हुने युवालाई स्वदेशमा पनि मेहनत गरे प्रशस्त आम्दानी गर्न सकिने सुझाव दिए । रासस

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend