images

२०८३ आश्विन २१ गते

images
images
images

बगरखेतीले फेरिँदै फाँटाका किसानको जीवनस्तर

बगरखेतीले फेरिँदै फाँटाका किसानको जीवनस्तर

images
images
शुक्रवार, माघ २५ २०८१
शुक्रवार, माघ २५ २०८१
  • काठमाडौं ।  यहाँस्थित राजापुर र कैलालीको टीकापुर सीमामा पर्ने कर्णाली नदीका कारण बर्सेनि आसपासको खेतीयोग्य जमिन बगरमा परिणत हुँदै आएको छ।  यसरी बगरमा परिणत भएको क्षेत्रमा अहिले पनि बालुवा नै बालुवा थुप्रिएका देखिन्छन्। धेरैजसो बगर उपयोगविहीन छ।    

    images
    images

    राजापुरसँग जोडिएको कैलालीको टीकापुर–८ फाँटाका किसानहरूले भने त्यही बगरलाई पसिना सिञ्चित गरी जीविकोपार्जनका लागि उपयोग गरिरहेका छन्। ३ वर्षअघिसम्म मरुभूमि झैँ देखिने यो क्षेत्र अचेल यहाँका किसानका लागि आम्दानीको स्रोत बनेको छ। हिजो बालुवा नै बालुवा देखिने यो बगरमा अचेल मौसमअनुसार तरकारीखेती गरी किसानले आम्दानी गरिरहेका छन्। यो बगरमा अचेल कहिले लौका, काँक्रा, तरबुजा त कहिले प्याज फल्छन्, जसले किसानको जीवनशैली फेरिँदै गएको छ।  

    विसं २०६४ को बाढीले यहाँका किसानको खेतीयोग्य जमिन कटान गरी क्षति पुर्‍याएकामा त्यसयता त्यो क्रम निरन्तर जारी छ। यहाँका धेरैजसो किसानको सबै खेती बगाएपछि आर्थिक उपार्जनको कुनै उपाय थिएन। पछिल्ला समय कर्णाली नदीले कैलालीतर्फको धार परिवर्तन गर्दै बर्दियातर्फ मोडिएपछि त्यही बगरमा खेती गरेर ती किसानले आफ्नो गर्जो टारिरहेका छन्। ३ वर्षदेखि यहाँ बगरखेती हुँदै आएको छ।  

    images
    images

    स्थानीय सोहदी चौधरीले पहिलोपटक यस वर्षदेखि बगरखेती सुरु गरेका छन्। छोरी सेती चौधरीले प्रेरित गरेपछि उनी यसतर्फ आकर्षित भएका हुन्। छोरी सेतीले गत वर्ष घरअगाडिको खाली बगरमा नौ किलोग्राम प्याज रोपेर चार क्विन्टल उत्पादन गर्न सफल भएपछि आमाले पनि उत्साहित हुँदै १५ केजी प्याजको बीउ रोप्ने आँट गरेको सोहदीले सुनाए। “छोरीले राम्रो कमाई गरेपछि मैले पनि हिम्मत जुटाएँ। पहिलोपटक बगरमा खेती गर्दैछु, हेरौँ राम्रै होला भन्ने अपेक्षा छ”, उनले खुसी हुँदै भने। यहाँ ३ वर्षअघि खेती गर्ने किसानमध्ये एक थिए शाहीबहादुर चौधरी।  

    बगरखेतीबाट मनग्य आम्दानी हुन थालेपछि उनको सम्पूर्ण परिवार यसै कार्यमा लागेको छ। “ती वर्षअघि यो बगरमा हामीले नै पहिलोपटक खेती गरेका थियौँ। राम्रो कमाई हुन थालेपछि अहिले मेरो सातजनाको  परिवार यही खेतीमा लागेका छौँ। हाम्रो प्रगति देखेर पछिल्लो समय यस क्षेत्रका अन्य किसान पनि आकर्षित हुँदै गएका छन्”, चौधरीले भने। उनले यसपटक आफूले ३० क्विन्टल प्याज फलाउने लक्ष्यसहित खेती गरेको जानकारी गराए।  

    बडघर अजय चौधरीका अनुसार यहाँ सोहदी, सेती र शाहीबहादुर मात्र नभई ५४ परिवार किसानहरूले हाल बगरखेती गरिरहेका छन्। “पहिले उनीहरूले ज्याला मजदुरी गरेर जीविकोपार्जन गरिरहेका थिए। पछिल्लो ३ वर्षयता भने उनीहरू बगरखेती गर्न थालेका छन्। “सबै जनाले राम्रो आम्दानी गरिरहनुभएको छ”, उनले भने।  किसान मीना चौधरी आफूहरूले मौसमअनुसार लौका, काँक्रा, तरबुजा र प्याजखेती गरिरहेको सुनाउँछिन्। उनले उत्पादित सामग्री बिक्रीका लागि किसानलाई कुनै समस्या नभएको सुनाइन्। “हामीलाई बजारको कुनै चिन्ता छैन, उत्पादन गरे पुग्छ। नेपालगञ्ज, राजापुर, लम्की र टीकापुरसम्मका व्यापारीहरू गाडी लिएर आफैँ खरिद गर्न आउँछन्”, चौधरीले भनिन्, “व्यापारीहरू नै यही आएर राम्रो मूल्य दिएपछि धेरै सहज भएको छ। उत्पादन गरेको सामग्री कसरी बेच्ने होला भनेर चिन्ता नहुने भएपछि खेतीमै ध्यान दिए पुग्छ। ”

    बजारको समस्या नभए पनि यहाँका किसानलाई सिँचाइको समस्या भने टड्कारो छ। यो समस्या समाधान भएमा आफूहरूले थप ऊर्जासहित काम गर्ने रतरानी चौधरीको भनाइ छ। “नदीछेउमै घर छ, जमिनका नाममा यही बगर हो। पछिल्लो यही बगरमा पसिना चुहाएर जीविको चलाइरहेका छौँ तर सिँचाइको समस्याले निकै चुनौती छ। कति दिनसम्म बाल्टीमा पानी बोकेर सिँचाइ गर्नु”, उनले दुखेसो पोखिन्, “उसै त बालुवामा धेरै पानी चाहिने, बाल्टिको पानी त बालुवाले एकै छिनमा सोस्छ। प्याज र तरकारी खेतीमा धेरै पानी चाहिने भएकाले सरकारले सिँचाइको व्यवस्था गरिदिए सहज हुन्थ्यो।”स्थानीय पार्वती चौधरीले सिँचाइ व्यवस्थाका लागि सहयोग गर्न स्थानीय सरकार र सरोकारवालालाई आग्रह गरिन्। “सिँचाइको राम्रो व्यवस्था भए, हामी अझ धेरै खेती गरेर राम्रो आम्दानी गर्न सक्थ्यौँ। प्रत्यक्ष रूपमा हामीलाई फाइदा भए पनि यसको लाभ त अरूलाई पनि हुन्थ्यो नि!”, उनले भनिन्।  

    बगरखेतीले फाँटाका किसानहरूको जीवनमा नयाँ उत्साह ल्याएको छ।  किसानहरूले बगरमा पसिना सिञ्चन गरी राम्रो आम्दानी गरिरहेका छन्।  यसले किसानको आर्थिक स्थिति सुधारका साथै ग्रामीण अर्थतन्त्रलाई पनि गतिशील बनाएको छ। यदि सिँचाइको उचित प्रबन्ध हुने हो भने यस कार्यले फाँटा गाउँ र समुदायको समृद्धिमा थप टेवा पुर्‍याउने अपेक्षा गरिएको छ। भुपेन्द्र विक/रासस

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend