images

२०८३ आश्विन २१ गते

images
images
images
  • स्वास्थ्य
  • बागलुङमा ‘कालो टीका’ अभियानले घरमा सुत्केरी...

बागलुङमा ‘कालो टीका’ अभियानले घरमा सुत्केरी गराउने शून्यतिर

बागलुङमा ‘कालो टीका’ अभियानले घरमा सुत्केरी गराउने शून्यतिर

images
images
बुधवार, माघ १६ २०८१
बुधवार, माघ १६ २०८१
  • बागलुङ ।  स्वास्थ्य संस्थामा प्रसूति गराउँदा आमा र बच्चाको स्वास्थ्य जोखिममा नपर्ने तथा केही समस्या भए तत्काल उपचारको व्यवस्था गर्न सकिने भएकाले ‘होम डेलीभरी’लाई शून्यमा झार्ने अभियानस्वरूप यहाँका आमा समूहले घरमा कालो टीका लगाइदिने गरेका छन्।

    images
    images

    निसीखोला गाउँपालिकाका अधिकांश वडाका समुदायमा रहेका आमा समूहले यो विधिलाई अवलम्बन गरेका छन्। त्यसबाहेक अन्य पालिकामा पनि ‘साथ’ विधिका रूपमा यो अभ्यास भएको छ। निसीखोला–६ तिर्खापानी आमा समूहकी सदस्य निरुता बुढा गत कात्तिक १४ गते घरमै सुत्केरी भएपछि आमा समूहले उनको घरमा कालो टीका लगाइदिएको हो।

    पति सन्तोष बुढासहित घरपरिवारले जान नदिएपछि उनी घरमै सुत्केरी भएकी थिइन्। त्यसपछि गाउँको आमा समूहले बनाएको सामाजिक नक्सामा उनको घरमा कालो टीका लगाइदिएको हो। तिर्खापानीकै मनदेवी घर्तीले पनि घरमै सन्तान जन्माए। भिडियो एक्सरे गर्नुपर्ने भएपछि निसी स्वास्थ्य चौकीले उनलाई बुर्तिवाङस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा रेफर गरेको थियो।

    images
    images

    तर घर फर्केर जोखिम मोल्दै कात्तिकको १२ गते उनले छोरालाई जन्म दिइन्। पति देवीराज गोठ जानुपरेकाले उनलाई घर कुर्न राख्दा स्वास्थ्य संस्था जान पाइनन्। अहिले मनदेवीको घरमा पनि कालो टीका लागेको छ। उनको यो पटकको चौथो सन्तान हो।

    यसअघिका तीन सन्तान जन्माउने बेलामा त उनी झन् गर्भजाँचमा पनि गइनन्। गर्भवती भएपछि आठपटकसम्म गर्भजाँच गराउनुपर्ने र स्वास्थ्यसंस्थामै पुगेर सुत्केरी हुनुपर्ने सरकारी ‘प्रोटोकल’ उनीहरूले उल्लंघन गरेपछि महिला स्वास्थ्य स्वयंसेविकासहित आमा समूह बैठकपछि घरमा कालो टीका लगाउने गरिएको छ।

    यो समस्या निसीखोलाका अधिकांश वडामा छ। कतिपयले प्रोटोकल पूरा गर्नै खोज्दैनन् भने कतिपयले भौगोगिक कठिनाइ देखाएर समस्या परेको गुनासो गर्छन्। ‘कालो टीका लाग्नुलाई नराम्रो संकेत मानिन्छ’, निसी स्वास्थ्य चौकीकी अनमी ज्ञानकुमारी बुढाले भनिन्, ‘होम डेलीभरी घटाउने यो सामाजिक विधि हो।’

    घरमै सुत्केरी भएको थाहा पाएपछि तत्काल स्वास्थ्यकर्मी पुगेर स्वास्थ्य अवस्था बुझ्ने र उपचार गराएको बुढाले बताइन्। उच्च रक्तचाप, बच्चा उल्टो भएका वा अन्य कुनै जटिल समस्या आउने देखिएमा रेफर गर्ने र नभए पनि उनको शारिरीक अवस्था हेरेर आवश्यक सुझाव दिने काम स्वास्थ्य चौकीमा हुने गरेको छ।निसीको तिर्खापानी, लुप्राङसहित अधिकांश वडाका ग्रामीण बस्तीका महिला गर्भ अवस्थामा पनि खेतीपाती, लेकको गोठमा जाने चलन छ। वस्तुभाउ चराउन लेकमा जाने चलनले पनि प्रोटोकलअनुसार गर्भजाँचमा नआउनेहरू प्रशस्त भएको बुढाले बताइन्।

    घरपरिवारले चासो नराख्ने, कामले फुर्सद पनि नपाउनेहरू बढी मात्रामा होम डेलिभरीमा परेको उनले बताए। कालो टीका नलाग्नका लागि सुत्केरीपछि पनि पाँच वर्षसम्मका बालबालिकालाई सबै खोप पूरा गर्ने र आमाले आइरन चक्की खाने प्रावधान पूरा गर्नुपर्छ। स्वास्थ्य प्रोटोकल पूरा नगर्नेलाई दबाब पर्ने भएकाले कालो टीका लगाउने गरिएको निसीखोला–३ स्कुलटोल आमा समूहकी अध्यक्ष कौशिला चन्दले बताइन्।

    निसीमा घरमै सुत्केरी हुने र गर्भजाँच नगर्नेको संख्या अत्यधिक छ। स्वास्थ्य चौकीले पनि लागत राख्नै कठिन भएको इन्चार्ज गणेश खड्काले बताए। उनका अनुसार आर्थिक वर्ष २०७९/८० मा एक सय आठ जना सुत्केरी हुने सूचना प्राप्त भएकामा २८ जना मात्र स्वास्थ्य संस्थामा आएका थिए। बाह्र जना घरमा सुत्केरी भएका थिए । चालु वर्षको छ महिनामा १६ जना स्वास्थ्य संस्थामा र दुई जना घरमा नै सुत्केरी भएका उनले बताए।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend