काठमाडौं । कृषि विकास बैंकले माघ ७ गते अर्थात आज सोमवार आफ्नो ५८ औँ वार्षिकोत्सव भव्यताका साथ मनाएको छ । सोमवार बैंक परिसरमा आयोजित वार्षिकोत्सव समारोहका प्रमुख अतिथि उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पानसमा दीपप्रज्वलन गरी उद्घाटन गरेका थिए ।
उद्घाटन पश्चात प्रमुख अतिथि अर्थमन्त्री पौडेलले पछिल्लो समय अब्बल बैंकका रुपमा आफूलाई स्थापित गर्न सफल भएको भन्दै कृषि विकास बै.कको प्रशंसा गरे । मन्त्री पौडेलले हाल बैकिङ्ग बजारमा निक्षेप संकलनको तुलनामा कर्जाको माग नहुनु चुनौतीको रुपमा रहेको भन्दै पछिल्लो समय समग्र अर्थतन्त्रका सुचकहरुमा सकरात्मक हुने संकेत देखिएकोले बैंकहरुले पनि कर्जा लगानीलाई थप सर्वसुलभ ढंगले कर्जा प्रवाह गर्ने गरी आफ्ना कार्यक्रमहरु बढाउन अर्थमन्त्री पौडेलले आग्रह गरे । उक्त अवसरममा प्रमुख अतिथिबाट बैंकको नयाँ वेबसाइटको शुभारम्भ समेत गरेको छ ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा विशिष्ठ अतिथी नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले बैंकहरुले पछिल्लो समयमा गरेको प्रगति राम्रो भएकोले लगानीको मार्ग प्रशस्त गर्दै अगाडि बढ्न आग्रह गरे । पछिल्लो समय बैकिङ्ग बजार केहि चुनौती भए पनि पालना गर्नु पर्ने न्युनतम नियमको पालना गर्दै कषि विकास बैंकले गत आर्थिक वर्षमा गरेको प्रगतिले यहाँका कर्मचारीहरुलाई मात्र नभई बैंकको हित चाहने ग्राहकलगायत सम्पूर्णलाई उत्साहित बनाएको विचार व्यक्त गर्दै उनले बैंकको प्रशंसा गरे ।
समारोहमा बैंकले प्रकाशन गरेको ५८ औं वार्षिकोत्सव आर्थिक विशेषाङ्क तथा विगत ४६ वर्षदेखि प्रकाशन भइरहेको साहित्यिक प्रकाशन समष्टिको पनि प्रमुख अतिथिबाट विमोचन समेत गरिएको थियो ।बैंक सञ्चालक समितिका अध्यक्ष रामशरण पुडासैनीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा कृषि विकास बैंकका पूर्व महाप्रबन्धक श्रीकृष्ण उपाध्याय, लगायतका अतिथिले वार्षिकोत्सवको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा उपस्थित प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथि लगायत सम्पूर्णमा स्वागत गर्दै बैंकका प्रमुख कार्यकारी अधिकत गोविन्द गुरुङले हाल बैंकको समग्र गतिविधिको समेत जानकारी दिएका थिए । समारोहमा बैंकमा अविच्छिन्न २० वर्ष र २५ वर्ष काम गरेका कर्मचारीहरुलाई पदक र कदरपत्र समेत प्रदान गरिएको थियो । कार्यक्रममा बैंकका सञ्चालक समितिका सदस्यहरु, विभिन्न संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, बैंकका उपमहाप्रबन्धकहरु, विभागीय प्रमुखहरु, कर्मचारीहरु, पत्रकारहरुको उपस्थिति रहेको थियो ।




.gif)





