images

२०८३ आश्विन २० गते

images
images
images

मौरीबाट मनग्य आम्दानी गर्दै नवलपरासीका किसान

मौरीबाट मनग्य आम्दानी गर्दै नवलपरासीका किसान

images
images
बिहिवार, माघ ३ २०८१
बिहिवार, माघ ३ २०८१
  • नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली नगरपालिका–९ का विष्णुबहादुर खड्का अचेल मौरीको चरन व्यवस्थापन गर्न र मह काढ्न व्यस्त छन् । दुई वर्षअघि दुई घारबाट मौरीपालन सुरु गरेका उनको हाल २८ घार मौरी रहेका छन् ।

    images
    images

    यस वर्ष मात्र खड्काले दुईपटक गरी करिब चार सय केजी मह उत्पादन गरेका छन् । अहिले तोरी फुलेको समय भएकाले चाँडो चाँडो मह तयार हुने उनको भनाइ छ । यसबाट खड्काले राम्रो आम्दानी गर्दै आएका छन्। स्थानीय बजारमा मह प्रतिकिलोग्राम (केजी) रु सात सयमा बिक्री हुने गरेको छ । थोरै लगानी र थोरै श्रमबाट पनि राम्रो आम्दानी लिन सकिने हुँदा किसानका लागि मौरीपालन व्यवसाय उत्तम भएको उनको अनुभव छ । ‘धेरै लगानी गर्नु पनि नपर्ने, मेहनत पनि थोरै गरे पुग्ने । आम्दानी राम्रो नै हुने रहेछ’, खड्काले भने, ‘मौरीपालन स्वास्थ्य र आम्दानी दुवै हिसाबले ठीक छ ।’

    देवचुलीकै जसमती रानाले समेत मौरीपालनबाट राम्रो आम्दानी गर्दै आएकी छन् । उनले छ वर्षअघि दुई घारबाट सुरु गरेकामा हाल आठ घारमा मौरी पालिरहेकी छन् । आफूले वर्षको तीन सय केजीसम्म मह उत्पादन गरी बिक्री गर्ने गरेको रानाले बताइन् । फुर्सदको समय सदुपयोग होला भनेर थोरै मात्रमा मौरीपालन गरे पनि यसबाट भएको आम्दानीले घर खर्च चलाउन सहज भइरहेको उनको भनाइ छ । बिक्रीका लागि बजार सुनिश्चित हुने हो भने थप मौरीको पालन गरी राम्रो आम्दानी लिन सकिने रानाले बताइन् ।

    images
    images

    नेपाल मौरीपालक महासंघ नवलपुरका अध्यक्ष यदुनाथ कँडेलले हाल सबैजसो किसानले मह काढ्ने काम गरिरहेको बताए । उनका अनुसार चरनको राम्रो व्यवस्थापन गर्नेले कात्तिकदेखि र घरमै घार राख्नेले मंसिरको अन्तिम साताबाट मह काढ्न थालेका छन् । घरमै घार राख्नेहरूले सामान्यता एक वर्षमा तीनदेखि चार पटकसम्म र बाहिर लगेर मौरीको चरन व्यवस्थापन गर्नेले वर्षमा ६ देखि ८ पटकसम्म मह निकाल्ने गरेका छन्।

    नवलपुरको देवचुली, कावासोती, गैँडाकोटमा यस्ता किसान क्रमिक रूपमा बढ्दै गएका छन् । पहाडी क्षेत्रका पालिकामा भने व्यावसायिक रूपमा मौरीपालन अघि बढ्न नसकेको महासंघ अध्यक्ष कँडेलले बताए । व्यावसायिक रूपमा मौरीपालन गर्ने किसानलाई व्यावसायिक किट विकास केन्द्र बन्दीपुरले सहयोग गर्दै आएको छ । किसानले मौरीको चरनका लागि पश्चिममा दाङ र पूर्वमा चितवनसम्म मौरी लैजाने गरेको छन् तर यस व्यवसायमा विषादीको प्रयोग चुनौतीका रूपमा रहेको छ ।

    ‘तोरी भएको स्थानमा चरनका लागि लैजाँदा कतिपयले तोरीमा क्षति पुग्छ भन्ने गलत धारणाले गर्दा विषादीको प्रयोग गर्ने गर्छन्, यसले समस्या उत्पन्न हुने गर्छ’, अध्यक्ष कँडेलले भने । तोरी फुल्ने समयमा केही सहज भए पनि अन्य समयमा भने चरनका लागि समस्या हुने गरेको मौरीपालक किसानको भनाइ छ । फूल फुल्ने रैथाने बोटबिरुवा लगाउने क्रम घट्दै जाँदा चरन क्षेत्र साँघुरो हुँदै गएको उनीहरूले जनाकारी दिए ।नेपाल मौरीपालक महासङ्घका अनुसार नवलपुरमा यस वर्ष करिब ७० टन मह उत्पादन हुने अनुमान रहेको छ । महको प्रकृति हेरी रु सात सयदेखि रु एक हजारसम्ममा बिक्री हुने गरेको छ । उत्पादन भएको मह स्थानीय बजारबाट खपत हुने गरेको र थप बजारको खोजी र व्यवस्थापनका लागि महासंघबाट समेत पहल भइरहेको जनाइएको छ ।

    महको प्रयोग स्वास्थ्यका लागि लाभप्रद मानिन्छ । पछिल्लो समय मह सेवन स्वास्थ्यका लागि लाभदायक रहेको भन्ने जनमानसमा पर्दै गएकाले महको बजार विस्तार हुँदै गएको महासंघका अध्यक्ष कँडेलले बताए । मह जम्ने विषय उपभोक्ताको बुझाइमा फरक पर्दासमेत केही समस्या भएको उनको भनाइ छ । तोरी, चिउरीको मह जम्ने र जमेको मह शुद्ध हुने जानकारहरू बताउँछन् । रासस

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend