आन्तरिक राजस्व कार्यालय भद्रपुरले आर्थिक वर्ष २०८०/८१ मा ३ अर्ब २१ करोड १२ लाख ६७ हजार राजस्व संकलन गरेको छ । कार्यालयले गत असारमा मात्र ३० करोड ७१ लाख नौ हजार राजस्व सङ्कलन गरेको हो ।
कार्यालयले आर्थिक वर्ष २०७९/८० को तुलनामा १९ करोड ५२ लाख ९१ हजार बढी राजस्व संकलन गरेको छ । गत आर्थिक वर्षमा ३ अर्ब १ करोड ५९ लाख ७६ हजार राजस्व संकलन भएको आन्तरिक राजस्व कार्यालय भद्रपुरका सूचना अधिकारी भीमप्रसाद आचार्यले जानकारी दिए । गत आर्थिक वर्षमा कार्यालयको ३ अर्ब ७९ करोड ७१ लाख राजस्व उठाउने लक्ष्य थियो । तर, ८४.५७ प्रतिशत मात्र राजस्व सङ्कलन गर्न सकिएको छ ।
'देशभर व्यापार–व्यवसायमा गिरावट आउँदा राजस्व सङ्कलनमा कमी आएको हो', उनले भने ।
आन्तरिक राजस्व कार्यालयले आयकरबाट १ अर्ब ६९ करोड ९४ लाख, भाडा आयकरबाट ३ करोड ६४ लाख, ब्याजबापत ११ करोड ५९ लाख, मूल्य अभिवृद्धि करबापत १ अर्ब २९ करोड ५ लाख लाख तथा अन्तःशुल्कबापत ६४ करोड ४६ लाख ५५ हजार राजस्व सङ्कलन गरेको सूचना अधिकारी आचार्यले बताए ।
जिल्लामा विकास निर्माणका आयोजनामा चालु आर्थिक वर्षमा कम भुक्तानी हुँदा मूल्य अभिवृद्धिकरबापत हुने आम्दानी घटेको छ । गत आर्थिक वर्षमा मूल्य अभिवृद्धि करबापत १ अर्ब ३७ करोड ८८ लाख ९२ हजार राजस्व सङ्कलन भएको थियो ।




.gif)





