images

२०८३ आश्विन २४ गते

images
images
images
  • विशेष
  • नागरिकको विश्वास जित्ने चुनौतीबीच कांग्रेसको नेतृत्वमा...

नागरिकको विश्वास जित्ने चुनौतीबीच कांग्रेसको नेतृत्वमा गगन थापा

नागरिकको विश्वास जित्ने चुनौतीबीच कांग्रेसको नेतृत्वमा गगन थापा

images
images
शनिवार, आश्विन २४ २०८३
शनिवार, आश्विन २४ २०८३
  • नागरिकको विश्वास जित्ने गरी कांग्रेसलाई रूपान्तरण गर्छु, सभापति गगन थापा

    images
    images

    काठमाडौँ । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले नागरिकको विश्वास जित्ने गरी पार्टीलाई रूपान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। पार्टीको १५औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित भएपछि शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा कार्यकर्ता तथा समर्थकलाई सम्बोधन गर्दै उनले आफूले प्राप्त गरेको जिम्मेवारीलाई अधिकार नभई जवाफदेहिताका रूपमा लिएको बताएका हुन्।

    थापाले पार्टीको नेतृत्वमा पुग्नु आफ्नो व्यक्तिगत उपलब्धिभन्दा पनि परिवर्तनका लागि गरिएको विश्वासको प्रतीक भएको उल्लेख गरे। उनले आफूलाई जिम्मेवारी सुम्पिने नेता, कार्यकर्ता तथा समर्थकप्रति कृतज्ञता व्यक्त गर्दै प्राप्त विश्वासलाई व्यवहारबाट प्रमाणित गर्ने बताए।

    images
    images

    ‘तपाईंहरूले विश्वास गरेर पार्टीको जिम्मेवारी सुम्पिनुभएको छ। यो जिम्मेवारीप्रति कृतज्ञता व्यक्त गर्न आएको हुँ। यो परिवर्तनका लागि गरिएको विश्वास हो। यो विश्वासलाई अधिकार सम्झन्नँ, जिम्मेवारी सम्झन्छु,’ उनले भने।

    विशेष महाधिवेशनपछि भएको १५औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुँदैमा मात्र पार्टी रूपान्तरण नहुने उनको भनाइ थियो। पार्टीको कार्यशैली, जिम्मेवारी निर्वाह गर्ने तरिका र जवाफदेहितामा परिवर्तन आवश्यक रहेको उनले बताए।

    महाधिवेशनमा भएको प्रतिस्पर्धालाई लोकतान्त्रिक अभ्यासको स्वाभाविक प्रक्रियाका रूपमा व्याख्या गर्दै थापाले अब सबै नेता तथा कार्यकर्ता एकजुट भएर नागरिकको विश्वास जित्न लाग्नुपर्नेमा जोड दिए।

    ‘महाधिवेशनमा प्रतिस्पर्धा भयो। कोही जित्छौँ, कोही हार्छौँ। यो कसैले विजय प्राप्त गर्ने र कसैले हार्ने विषय होइन। अब हामी सबै साथी मिलेर नागरिकको विश्वास जित्न जाने हो,’ उनले भने।

    सभापतिमा प्रतिस्पर्धा गरेका श्यामकृष्ण खड्गीप्रति धन्यवाद व्यक्त गर्दै थापाले लोकतान्त्रिक प्रतिस्पर्धाले पार्टीलाई जीवन्त बनाउने बताए। प्रतिस्पर्धामा रहेका सबै नेता तथा कार्यकर्तालाई समेटेर अघि बढ्ने उनको प्रतिबद्धता थियो।

    कांग्रेस र नागरिकबीचको विश्वास पुनःस्थापित गर्ने प्रतिबद्धता

    सभापति थापाले पछिल्लो समय नेपाली कांग्रेस र नागरिकबीचको विश्वास कमजोर भएको उल्लेख गर्दै त्यसलाई पुनःस्थापित गर्नु नयाँ नेतृत्वको प्रमुख जिम्मेवारी भएको बताए।

    किसान, उद्योगी, व्यवसायी तथा वैदेशिक रोजगारीमा रहेका नेपालीले समेत भरोसा गर्न सक्ने पार्टी निर्माण गर्नुपर्ने उनको भनाइ थियो। कांग्रेसलाई माया गर्ने शुभेच्छुकलाई पुनः पार्टीसँग जोड्ने र नागरिकले घरघरमा कांग्रेसलाई स्वागत गर्ने वातावरण निर्माण गर्ने लक्ष्य रहेको उनले बताए।

    ‘नेपाली कांग्रेसलाई माया गर्ने लाखौँ शुभेच्छुकलाई फेरि कांग्रेसमा फर्कन र घरघरमा कांग्रेसलाई स्वागत गर्ने वातावरण बनाउनुपर्छ। नयाँ इतिहास बनाउने तागत लिएर आएका छौँ,’ थापाले भने, ‘बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ।’

    उनले पार्टी रूपान्तरणको कुरा भाषणमा मात्र सीमित नराखी व्यवहार र कार्यसम्पादनमा देखिनुपर्ने स्पष्ट पारे। नागरिकका समस्या सम्बोधन गर्ने, जिम्मेवारी पूरा गर्ने र परिणाममुखी काम गर्ने संस्कृतिको विकास गर्नुपर्नेमा उनले जोड दिए।

    प्रतिवेदन अध्ययनपछि कार्ययोजना बनाइने

    महाधिवेशनबाट पारित प्रतिवेदनहरूको अध्ययनका लागि एक साताको समय दिइएको जानकारी दिँदै थापाले नेता तथा कार्यकर्ताबाट सुझाव संकलन गरिने बताए।

    प्राप्त सुझावका आधारमा पहिलो केन्द्रीय कार्यसमिति बैठकबाट पार्टीको आगामी कार्यदिशा र कार्ययोजना तयार पारिने उनको भनाइ थियो। पार्टीका निर्णय तथा प्रतिबद्धतालाई कार्यान्वयनमा लैजान स्पष्ट योजना आवश्यक रहेको उनले बताए।

    थापाले कांग्रेसले गलत व्यक्तिको पक्षमा नबोल्ने र कसैको अनुचित भार नबोक्ने पनि स्पष्ट पारे। कानुन सबैका लागि समान हुनुपर्ने उल्लेख गर्दै कुनै व्यक्तिले गल्ती गरे त्यसको जवाफदेहिता सम्बन्धित व्यक्तिले नै लिनुपर्ने उनले बताए।

    ‘कांग्रेस गलत मान्छेको पक्षमा बोल्दैन, उभिँदैन। कसैको पनि भारी कांग्रेसले बोक्दैन,’ उनले भने।

    व्यक्तिगत स्वार्थभन्दा माथि उठ्नुपर्नेमा जोड

    सभापति थापाले कांग्रेसलाई विगतमा व्यक्तिगत लाभ र स्वार्थका लागि प्रयोग गर्ने प्रवृत्तिबाट मुक्त गर्दै सामाजिक लोकतन्त्रका मान्यताअनुसार अघि बढाउनुपर्ने बताए।

    पार्टीलाई नागरिकको आवश्यकता र अपेक्षासँग जोड्नुका साथै संगठनभित्र जिम्मेवारी र जवाफदेहिताको संस्कार स्थापित गर्नुपर्ने उनको भनाइ थियो।

    १५औँ महाधिवेशनबाट प्राप्त जिम्मेवारीलाई व्यवहारमा उतार्दै पार्टीप्रति नागरिकको विश्वास फर्काउने र कामबाटै परिवर्तन प्रमाणित गर्ने आफ्नो लक्ष्य रहेको थापाले बताए।

    नयाँ नेतृत्व चयनसँगै कांग्रेसले संगठनात्मक सुधार, कार्यशैली परिवर्तन र नागरिकसँगको सम्बन्ध सुदृढीकरणलाई कसरी अघि बढाउँछ भन्ने विषय अब पार्टीको आगामी कार्ययोजना र कार्यान्वयनबाट स्पष्ट हुने देखिन्छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend