काठमाडौं । माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य चाहिने भएको छ। राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशनमा संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो।
बैंक तथा वित्तीय संस्थाले २०८१ माघ १ गतेदेखि राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेखमा रहेको विवरणको पहुँचका आधारमा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बरको विवरण यकिन गरी अनिवार्य रूपमा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बरका आधारमा खाता खोल्ने व्यवस्था मिलाउनुपर्ने कुरा परिपत्रमा उल्लेख गरिएको छ ।
साथै, २०८१ माघ १ सम्ममा संस्थाले सबै उच्चपदस्थ व्यक्तिको खातामा राष्ट्रिय परिचयपत्रको विवरण अद्यावधिक गर्नुपर्ने व्यवस्था समेत गरेको छ ।
पदमा बहाल रहेका वा नरहेका उच्च पदस्थ व्यक्ति, छिमेकी वा नजिकका मुलुकको विदेशी उच्च पदस्थ व्यक्ति, अन्य विदेशी उच्च पदस्थ व्यक्ति र अन्तर्राष्ट्रिय संस्थाको उच्च पदस्थ व्यक्तिलाई यो नियम लाग्ने भएको छ।
त्यस्तै, अब बैंकहरूले ग्राहक पहिचान राख्दा ग्राहकले उपलब्ध गराएको मोबाइल नम्बरको विवरण सोही व्यक्तिकै रहेनरहेको सुनिश्चित गर्न पनि बैंकहरूलाई निर्देशन दिइएको छ।
त्यस्तै, गृह मन्त्रालयले विभिन्न माध्यमबाट उपलब्ध गराएको व्यक्ति, समूह वा संगठनको सूची वा सोसँग सम्बद्ध कुनै व्यक्ति, समूह वा संगठन सँग आफ्नो कारोबार भएनभएको नियमित रूपमा यकिन हुने अद्यावधिक प्रणाली स्थापना गर्न पनि बैंकहरूलाई निर्देशन दिइएको छ।




.gif)





