images

२०८३ आश्विन २२ गते

images
images
images

के चुरोटको एक खिल्लीले २० मिनेट आयु घटाउँछ ?

के चुरोटको एक खिल्लीले २० मिनेट आयु घटाउँछ ?

images
images
बुधवार, पौष १७ २०८१
बुधवार, पौष १७ २०८१
  • काठमाडौँ ।  ‘चुरोट पिउनु हानिकारक छ’ यो सबैलाई थाहा छ । तैपनि चुरोट पिएर जीवनको किम्ती समय घटाउनलाई मरिहत्ते गर्छन्, अधिकांश मानिस ।हालै लण्डनको विश्वविद्यालयका विज्ञहरुले एउटा चुरोट मात्र पिउँदा जीवनको २० मिनेट आयु कम हुने दाबी गरेका छन् ।सो दाबीले के स्पष्ट बुझ्न सकिन्छ भने चुरोटले व्यक्तिलाई मृत्युको मुखमा तीव्र गतिमा धकेलिरहेको छ ।

    images
    images

    पछिल्लो समय भएको अध्ययनले महिलाले एउटा चुरोटको सर्को लिए वापत २२ मिनेट र पुरुषले १७ मिनेट आयु घट्ने उल्लेख गरेको छ । २० वटा चुरोटको खिल्ली भएको एक प्याकेटले जीवनको सात घण्टा कम गर्न सक्छ ।वाइली अनलाइन लाइब्रेरीमा ‘द प्राइस अफ सिगरेटः टवान्टी मिनेट्स अफ लाइफ ?’ मा प्रकाशित सो अध्ययनको निष्कर्ष साझा गरेको हो । सो अध्ययन ब्रिटिशका चिकित्सकहरुले गरेका हुन् ।

    अध्ययनकर्ता डा. सारा ज्याक्सन एक अन्तरर्वातामा भन्छिन्‌, ‘छिटोभन्दा छिटो मृत्युको सवारीबाट उत्रिन आवश्यक छ । जति चुरोटबाट टाढा रहयो, त्यति जीवनलाई बचाउन सकिन्छ । यसले पुर्‍याउने हानिबाट जोगिन्छ।’

    images
    images

    चुरोट छाड्न कहिल्यैं ढिला नहुने भन्दै २०२५को रिजोलुसनमा चुरोट छोड्न प्रतिज्ञा  गर्न समेत सम्पूर्ण अध्ययनकर्ताहरुले आग्रह गरेका छन् । छाती तथा फोक्सो रोग विशेषज्ञ डा. कमल राज थापा पनि चुरोटले आयु घटाउँदै लाने अध्ययनको सन्दर्भमा सहमती जनाउँछन् ।उनी भन्छन्, ‘चुरोटको हरेक सर्कोले शरीरलाई क्षति पुर्‍याउँछ । यसमा हुने निकोटिन, टार र कार्बन मोनोअक्साडडले मुटु, फोक्सो र रक्तसंचार प्रणालीमा दीर्घकालीन नकारात्मक प्रभाव पार्छ।

    त्यसकारण प्रत्येक चुरोटको खिल्लीले औसतमा ११ देखि २० मिनेट जीवनको समय घटाउँछ भन्ने तथ्य वैज्ञानिक रूपमा प्रमाणित छ भन्न सकिन्छ ।’हालै आएको अध्ययनले मात्र होइन । बेलाबखतमा भइरहने अध्ययनले पनि चुरोटले अल्पआयुमै ज्यान लिने तथ्यहरु पेस गरेको छ ।

    अमेरिकन क्यान्सर सोसाइटीको एक अध्ययनअनुसार चुरोटले सात हजार केमिकललाई चुरोट मार्फत  शरीरमा पुर्‍याउँछ ।धूम्रपानले व्यक्ति मात्र होइन वरपरका मानिसहरूलाई पनि हानी पुर्‍याउँछ । यसलाई ‘प्यासिभ स्मोकिङ’ भनिन्छ । जसले धूम्रपान गर्ने व्यक्तिमा पनि क्यान्सर र मुटुरोगको खतरा बढाउँछ।विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार प्रत्येक वर्ष ८० लाखभन्दा बढी मानिस सिगरेटका कारण मृत्युको सिकार हुन्छन्य। समध्ये ७० लाख सक्रिय धूम्रपानकर्ता र बाँकी १० लाखभन्दा बढी प्यासिभ स्मोकिङका कारण प्रभावित हुने गर्छन्।

    डा. थापा भन्छन्, ‘धूम्रपानलाई तुरुन्तै त्याग्नुपर्छ। जति ढिला हुन्छ, शरीरको क्षति त्यति गहिरो हुन्छ। चुरोट छाडेको पहिलो २४ घण्टामा नै शरीरले आफूलाई सुधार गर्न थाल्छ।’पाँच वर्षमा मुटुरोगको जोखिम आधा हुन्छ र १० वर्षपछि धूम्रपान गर्नेको तुलनामा फोक्सो क्यान्सरको खतरा ५० प्रतिशतले घट्ने हुँदा चुरोट नपिउन उनी सबैमा आग्रह गर्छन् ।

    फोक्सो बिग्रने जोखिम ९० प्रतिशत कम

    अमेरिकन क्यान्सर सोसाइटीमा प्रकाशित अर्को अध्ययनले चुरोट छाड्ने बित्तिकै मन्दरुपले बिग्रिएको फोक्सोको सुधार भइ फोक्सो विग्रने जोखिम ९० प्रतिशतले कम हुने देखाएको छ । अध्ययनले भनेझै ९० प्रतिशत जोखिम घटाउँछ त भन्ने प्रश्नमा डा. थापा भन्छन्, ‘यो सम्भव छ ।चुरोट छाडेमा त्यसको पाँच वर्षपछि ९० प्रतिशत बिग्रेको फोक्सोमा सुधार आउँछ । किनकि चुरोट छोड्नु भनेको कोष बिगार्ने ट्रिगर नै हट्नु हो । यो ट्रिगर नै हटिसकेपछि कोषहरु सामान्य बन्ने पुनः मौका पाउँछन् ।’

    कोषहरु बन्ने र नासिने प्रक्रिया शरीरभर नै भइरहेको हुन्छ । यो क्रमलाई पनि चुरोटले ट्रिगर गरेकै कारण क्षति पुग्ने डा. थापा बताउँछन् ।‘जोखिम शून्यदरमा कम हुँदैन’डा. थापाका अनुसार पाँच वर्ष भन्दा बढी जति लामो समय भयो त्यति फोक्सो बिग्रने जोखिम कम हुन्छ । बिग्रिएको अवस्था क्रमिक रुपमा सुधार हुँदै जान्छ । तर त्यो जोखिम शून्यले भने कम हुँदैन ।तर ४० वर्ष अगाडि नै चुरोटको लत चटक्कै छोड्दा शून्यको आसपासमै जोखिम कम हुनसक्ने उनको भनाइ छ ।

    क्यान्सर लागे पछि चुरोट छोड्दा फाइदा पुग्छ

    क्यान्सर रोग विशेषज्ञ डा. समीम अख्तरका अनुसार क्यान्सर लागिसकेपछि चुरोट छोड्दा पनि शरीरमा फाइदा पुग्छ ।उनी भन्छन्, ‘कतिपय व्यक्ति क्यान्सर भए पछि सबै सकियो, चुरोट खाँदा केही हुँदैन भनेर मनलाग्दी खाने गर्छन । जुन गलत हो । क्यान्सर भएकाले चुरोट छाडेमा औषधिले प्रभावकारी ढङ्गले काम गर्ने, दोस्रो क्यान्सर हुने जोखिम कम हुने र फैलिने जोखिम कम हुन्छ ।’

    विज्ञानले भन्छ, एउटा मानिसले चुरोट सेवन त्यागेको २० मिनेटमा रक्तचाप नर्मल हुन्छ । तीन दिनमा सास फेर्न सजिलो अनुभव गर्न सक्छ भने एक वर्षमा हृदयघात हुने सम्भावनालाई ५० प्रतिशत कम हुन्छ ।

    चुरोट छाडेको पाँच वर्षमा प्यारालाइसिस हुने सम्भावना चुरोट नखाने मानिसको बराबर हुन्छ भने १५ वर्षमा हृदयघात हुन सक्ने सम्भावना चुरोट नखाने मानिसको बराबर हुन्छ ।एउटा चुरोटले  २० मिनेटको जीवन घटाउने तथ्यले मानिसहरूलाई यसका असरबारे सचेत गराउन सक्छ । तर, यसलाई व्यवहारमा लागू गर्न प्रत्येक व्यक्ति जागरूक बन्नुपर्ने आवश्यकता छ।

    धूम्रपान छाड्न विभिन्न परामर्श सेवा, निकोटिन रिप्लेसमेन्ट थेरापी, र चिकित्सकीय सहयोग लिन सकिन्छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend