काठमाडौं । स्थानीय स्तरमा फुटबल खेलको प्रवर्द्धन र नयाँ प्रतिभाको पहिचानका लागि प्याब्सन बुढानिलकण्ठ र हिमालयन शेर्पा क्लबबीच ग्रासरुट फुटबल कार्यक्रम संचालन गर्न औपचारिक सम्झौता भएको छ।
सम्झौताअनुसार, बुढानिलकण्ठ नगरपालिकाका विद्यालयका बालबालिकालाई लक्षित गर्दै फुटबल प्रशिक्षण कार्यक्रमहरू संचालन गरिनेछ। यसले नयाँ खेलाडी पहिचान गरी उनीहरूको प्रतिभा प्रोत्साहन गर्ने लक्ष्य राखेको छ। सम्झौता पत्रमा प्याब्सन बुढानीलकण्ठका अध्यक्ष राधेश्याम श्रेष्ठ र हिमालयन शेर्पा क्लबका अध्यक्ष कर्माछिरिङ शेर्पाले हस्ताक्षर गरेका हुन् ।
सम्झौता अनुसार बालबालिकामा फुटबल खेलप्रतिको रुचि र सहभागिता बढाउने, विद्यालयस्तरमा प्रशिक्षणमार्फत युवा खेलाडीको पहिचान र विकास गर्ने र खेल सामग्री तथा प्राविधिक सहयोगमार्फत स्थानीय फुटबल संरचना सुदृढ बनाउने लक्ष्य राखिएको छ । त्यसका लागि हिमालयन शेर्पा क्लबले अनुभवी प्रशिक्षक उपलब्ध गराउनुका साथै स्थानीय प्रशिक्षक उत्पादन गर्न सहयोग गर्ने छ भने प्याब्सन बुढानिलकण्ठले नगरपालिकाभित्रका विद्यालयसँग समन्वय गरी कार्यक्रम संचालन गर्ने छ ।
सम्झौता पत्रमा हस्ताक्षर पछि प्याब्सन बुढानिलकण्ठका अध्यक्ष राधेश्याम श्रेष्ठले यो कार्यक्रमले बालबालिकाको समग्र व्यक्तित्व विकासमा सहयोग गर्दै स्वस्थ जीवनशैलीको प्रवर्द्धनमा योगदान पुर्याउने बताए ।यसैगरी हिमालयन शेर्पा क्लबका अध्यक्ष कर्माछिरिङ शेर्पाले यस साझेदारीमार्फत नयाँ खेलाडी उत्पादन गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने लक्ष्य राखेको जानकारी दिए ।




.gif)





